काठमाडौं । अफगानिस्तानको तालिवान सरकारले सरकारी पदमा रहेका उच्च पदस्थ व्यक्तिहरुका आफन्त र नातागोतालाई तत्काल हट्न आदेश दिएको छ ।
सरकारमा रहेका व्यक्तिहरुका आफन्तहरु नै सरकारी पदमा हावी भएको थाहा पाइएपछि तालिवानका नेता हिबतुल्लाह अखुन्दजादाले तत्काल उनीहरुलाई हट्न आदेश दिएका हुन् ।
पाकिस्तानको पेशावरस्थित अफगान इस्लामिक प्रेसले अपगानिस्तानका सरकारी पदहरुमा सरकारमा नै रहेका मानिसका नातेदार हावी भएको खुलासा गरेपछि तालिवान सरकारले यस्तो कदम चालेको हो ।
पहुँचका आधारमा सरकारी पदहरुमा अनुभवहीन व्यक्तिहरुको प्रवेश भएकाले तत्काल हट्न आदेश दिइएको जनाइएको छ । डेढ वर्षदेखि तालिवानको शासनमा रहेको अफगानिस्तानमा आर्थिक संकटका कारण मानवीय संकट पनि उत्पन्न भएको छ ।