images
images

जी—२० मा रुसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सी सहभागी नहुने

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा नौ दिनपछि आयोजना हुने विश्वका २० प्रमुख अर्थतन्त्रहरुको लुज नेटवर्क जी—२० मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङ सहभागी नहुने भएका छन् ।

पुटिनले आफू आउन नपाउने जानकारी भारतीय पक्षलाई फोनै गरेर बताएका थिए । भारतमा आयोजना हुनु अगाडि इन्डोनेसियामा आयोजना भएको जी—२० शिखर सम्मेलनमा पनि पुटिन गएका थिएनन् । यस्तै बेलायती समाचार संस्था रोयटर्सले चिनियाँ राष्ट्रपति सी चिनफिङ पनि जी—२० मा नजाने उल्लेख गरेको छ । रोयसर्टका अनुसार सीको ठाउँमा चिनियाँ प्रधानमन्त्री लि चियाङ सहभागी हुने भएका छन् ।

गत हप्ता दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको ब्रिक्सको १५औं शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी पनि गरेका सीको भारत भ्रमण नहुनुलाई अर्थपूर्ण मानिएको छ ।

पुटिन र सी अनुपस्थित हुने भए पनि जी—२० शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन भने सहभागी हुनेछन् । बाइडेनले आफू नयाँ दिल्लीमा आउने सूचना सार्वजनिक गरिसकेका छन् ।