images
images

स्याउको वाइन उत्पादन गर्न १० करोडको उद्योग, ‘मनाङको स्याउ मनाङमै खपत हुने’

मनाङ । हिमाली जिल्ला मनाङको अब मनाङमै खपत हुने भएको छ । यहाँ उत्पादित स्याउ अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने भए यसको परिकारमा फेर्दै विश्व बजारमा निर्यात गर्ने उद्देश्यले स्याउको वाइन उत्पादनको सुरुआत गरेको छ ।

मनाङ बेभरेज प्रालिले मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्देमा वाइन कारखाना सञ्चालनमा ल्याई कम्पनीले स्याउको उत्पादनलाई परिस्कृत गर्ने उद्देश्यले वाइन कारखाना सञ्चालनमा ल्याएको हो । यो कारखाना सञ्चालनमा आएसँगै अब मनाङको स्याउ मनाङमै खपत हुने भएको छ । अब यहाँको स्याउको मुख्य बजार पनि मनाङ हुने देखिएको छ ।

बेभरेजले सञ्चालनमा ल्याएको यो कारखानाले वार्षिक दुई लाख लिटर वाइन उत्पादन गर्ने क्षमता रहेको छ । यसबाट उत्पादित वाइन पनि कम्पनीले सार्वजनिक गरिसकेको छ । कम्पनीले मनाङको तीन हजार पाँच सय मिटर उचाइमा रहेको साब्जे लेकमा कार्यक्रम गरी ‘मनाङ भ्याली वाइन’ सार्वजनिक गरेको थियो ।

उत्पादित वाइनको मूल्य रु एक हजार २५ निर्धारण गरिएको छ । “हामीले तीन वर्षको कडा मिहिनेत र अध्ययन तथा अनुसन्धानपछि वाइन कारखाना सञ्चालनमा ल्याएका छौँ, यसमा अन्तर्राष्ट्रियस्तरका मापदण्ड पूर्णरूपमा पालना गरेका छौँ”, मनाङ बेभरेजका प्रबन्ध निर्देशक आश्रय रञ्जितकारले भने, “यसले मनाङमा स्याउ उत्पादनलाई थप टेवा पुग्नेछ भने बजार अभाव समस्या पनि अन्त्य गर्नेछ ।”

उनका अनुसार हाल मनाङमा करिब आठ सयदेखि एक हजार टन स्याउ उत्पादन हुने गरेको छ । यहाँ उत्पादित स्याउ कारखानाका लागि पर्याप्त हुनेछ । प्रबन्ध निर्देशक रञ्जितकारका अनुसार अबको पाँच वा छ वर्षसम्म यस पर्याप्त हुने भए पनि त्यसपछि भने मुस्ताङ, हुम्लालगायत जिल्लामा क्षेत्र विस्तार गर्नुपर्ने अवस्था आउन सक्ने अनुमान गरिएको छ ।

कम्पनीले वाइन कारखाना सञ्चालनका लागि मात्रै करिब रु १० करोड लगानी गरेको छ । हाल कारखानामा प्रत्यक्ष रूपमा करिब ३५ देखि ४० जनाले रोजगारी पाएका छन् भने अप्रत्यक्ष रोजगारी पाउनेको सङ्ख्या करिब पाँच सय रहेका छन् । “पूर्वाधार र बाटोको असहज अवस्थाका कारण कारखानाका लागि आवश्यक सामग्री पुर्‍याउन निकै कठिन भएको थियो”, उनले भने । अब वाइन उत्पादन गरेर बजार पुर्‍याउने चुनौती पनि रहेको उनले स्पष्ट पारे । रासस

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS