images

इजरायल-गाजा युद्धमा अहिलेसम्म ४५० भन्दा बढी मानिसहरूको मृत्यू, २ हजार भन्दा धेरै घाइते

काठमाडौं । इजरायल-गाजा युद्धमा आइतवार बिहान ९ बजेसम्मको तथ्याङ्कमा ४५० भन्दा बढी मानिसहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले उल्लेख गरेका छन् ।

द न्युयोर्क टाइम्सका अनुसार आज बिहानसम्म दुबैपक्षका गरी ४५० जनाको मृत्यु भएको छ ।

इजरायली अधिकारीहरूका अनुसार हमासको आक्रमणबाट २५० इजरायली नागरिकको मृत्यु भएको छ भने १ हजार ४ सयभन्दा बढी घाइते छन् ।

इजरायलको जवाफी कारबाहीबाट २०० भन्दा बढी प्यालेस्टाइनीको पनि मृत्यु भएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

इजरायलका विभिन्न शहरहरूमा हमास र इजरायली सैनिकहरूबीच युद्ध भइरहेको बताइएको छ। विभिन्न शहरहरूबाट हमासले त्यहाँका ज्येष्ठ नागरिकहरू र सैनिकहरुलाई बन्दी बनाएर लैजाँदै गरेको भिडिओहरू सार्वजनिक भएका छन् ।

हमासको आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले युद्ध सुरू भएको घोषणा गरेका छन्। उनले अझै केही दिन युद्ध चल्ने र केही गाह्रो परिस्थितिको सामना गर्नुपर्ने बताएका छन् । ‘हामी युद्धमा छौं र यो युद्ध हामी जित्नेछौं,’ उनले भनेका छन् ।

शनिबार बिहान प्यालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’ले इजरायलका विभिन्न शहरमा आक्रमण गरेका थिए। इजरायलका २२ सहर र सेनाको आधार शिविरमा हमासले गाजाबाट हजारौं रकेट प्रहार गरेको थियो ।

यसलाई इजरायलमाथि ५० वर्षयताकै ठूलो आक्रमण भएको बताइएको छ। तर यसलाई निस्तेज पारेरै छाड्ने प्रधानमन्त्री नेतन्याहुले बताएका छन् ।

हमास र इजरायलबीच सन् २०२१ मा पछिल्लो लडाइँ भएको थियो। उक्त लडाइँ १० दिनसम्म चलेको थियो ।