images

इजरायलमा रहेका नेपाली लिन परराष्ट्रमन्त्री साउदलाई पठाउने सरकारको निर्णय

काठमाडौं । सरकारले इजरायलमा रहेका नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउदलाई पठाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले राति ११ बजे जाने नेपाल एयरलाइन्सको विमानमा परराष्ट्रमन्त्री साउदलाई पठाउने निर्णय गरेको हो ।

बैठकपछि कानुनमन्त्री धनराज गुरुङले नेपाल आउन चाहने नेपालीहरुलाई लिन नेपाल परराष्ट्रमत्री स्वयम जाने र नेपालीहरुलाई लिएर आउने निर्णय भएको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहानै पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर इजरायल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबार इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा परी १० नेपालीको मत्यु भएको थियो भने ४ जना घाइते भएका छन् । एकजना अझै सम्पर्कबिहीन छन् ।

तनावग्रस्त क्षेत्रमा रहेका नेपाली  विद्यार्थीहरुलाई इजरायली सुरक्षा संयन्त्रले सुरक्षित स्थानमा सारिसकेको छ । इजरायलमा तनाव भने जारी नै रहेको छ । उक्त आक्रमणमा अहिलेसम्म २ हजार मानिसले ज्यान गुमाएको अनुमान गरिएको छ ।