images

आफ्ना नागरिक रिहा नगरेसम्म गाजामा पानीसमेत नपठाउने इजरायलको चेतावनी

काठमाडौं । हमास लडाकु समूहले बन्धक बनाएका आफ्ना नागरिक रिहा नगरेसम्म इजरायलले गाजा क्षेत्रमा बिजुली, पानी र इन्धनको सप्लाइ बन्द गर्ने भएको छ ।

हमास लडाकुले १५० बढी इजरायलीलाई बन्धक बनाएका छन् भने हमासको आक्रमणबाट १ हजार २०० इजरायलीको मृत्यु भइसकेको छ ।

इजरायलका ऊर्जामन्त्री इजराइल काट्जले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जबसम्म बन्धक बनाएका इजरायली नागरिक रिहा हुँदैनन्, तबसम्म बिजुलीको स्वीच अन हुँदैन, पानीको पाइप खुल्दैन र इन्धन बोकेको ट्रक गाजामा जाँदैन ।’

हमास लडाकुले हमला गरेकै दिनदेखि इजरायले बिजुलीका साथै, औषधि तथा पानीसहितका अत्यावश्यक सामग्रीको आपूर्ति बन्द गरिदिएको थियो । अहिले गाजा क्षेत्रमा अत्यावश्यक वस्तुको भण्डारण रित्तिने अवस्थामा पुगेको छ । एजेन्सी