images

काठमाडौं उपत्यकाको खानेपानीको मुहान मेलम्चीमै पानीको समस्या, कहिले देखि पाउँछन् पानी ?

सिन्धुपाल्चोक । मेलम्ची भन्ने बित्तिकै खानेपानीको मुहान भनेर चिन्ने गरेपनि मेलम्ची बजारकै नागरिकले खानेपानीको अभाव झेल्दै आएका छन् ।

अब भने मेलम्ची नगरपालिका–११ मेलम्ची बजारका स्थानीयवासीले वर्षौंदेखि भोग्दै आएको खानेपानीको समस्या समाधान हुने भएको छ । बजारका घरमा खानेपानीको धारा जडान गरेर खानेपानीको सुविधा पुर्याउने गरी योजना सञ्चालन भएपछि खानेपानीको समस्या समाधान हुनेमा स्थानीय ढुक्क भएका छन् ।

विसं २०७० भन्दाअघिदेखि योजना सञ्चालन भए पनि विविध कारणले सम्पन्न हुन नसकेको बजार खानेपानी योजना यतिखेर अन्तिम चरणमा पुगेको वडा नम्बर ११ का वडाध्यक्ष चन्द्रबहादुर तामाङले जानकारी दिए ।

अहिले बजारको तीन सय १० घरधुरीलाई पानी वितरण गर्ने गरी काम भइरहेको तामाङले बताए । खानेपानी तथा सरसफाइ कार्यालय सिन्धुपाल्चोकले ट्याङ्की निर्माण गरे पनि बजारसम्म पानी पुर्याउन सकिएको छैन ।

सङ्घीय खानेपानी कार्यालय भक्तपुरबाट कटुञ्जे बढरे खोला मुहानमा इन्टेक निर्माण, मुख्य पाइपलाइन व्यवस्थापन र मुहान संरक्षणका काम गरेपछि बजारमा खानेपानीको योजना पुनः सञ्चालनमा आएको वडाध्यक्ष तामाङले बताए ।

आर्थिक वर्ष ०७८-०७९ मा जिल्ला समन्वय समिति सिन्धुपाल्चोक र मेलम्ची नगरपालिकाको साझेदारीमा रु ४० लाख बजेट विनियोजन भएको थियो । आब ०७८-०७९ मा बजेट विनियोजन भए पनि ०७९-०८० मा खरिद प्रक्रियामार्फत खर्च गरिएको हो ।

सो बजेटबाट मुहानदेखि बजारसम्म पानीको पाइप बिच्छ्याउने काम भएको वडाध्यक्ष तामाङले बताए । आब ८०-८१ मा नगरपालिका आफैँले रु १० लाख बजेट विनियोजन गरेर पाइप वितरणको काम गरेको तामाङको भनाइ छ ।

नगरपालिकाले बजार खानेपानीको लागि बजेट हालेपछि अहिले घरघरमा पानी पुर्याउन पाइप बिच्छ्याउने काम अन्तिम चरणमा पुगेको हो । नगरपालिकाको सबैभन्दा ठूलो बजारको रुपमा रहेको मेलम्चीमै पानीको अभाव भएपछि विशेष महत्वका साथ काम भइरहेको नगरप्रमुख आइतमान तामाङले बताए।

इन्द्रावती, पाँचपोखरी थाङ्पाल र हेलम्बु गाउँपालिकाको समेत केन्द्र रहेको मेलम्ची बजारको खानेपानीको समस्या समाधान गर्नु नगरको मुख्य जिम्मेवारी रहेकाले अहिले तीव्र गतिमा काम भइरहेको र अब छिट्टै खानेपानीको समस्या समाधान हुने उनले बताए ।

स्थानीय तह आएको पहिलो वर्षनै स्थानीयका घरघरमा चौबिसै घन्टा स्वच्छ खानेपानी पुर्याउने लक्ष्य लिइए पनि केही प्राविधिक समस्याका कारण समय लम्बिएको बताउने गरिएको छ । बजारका नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले विसं २०७० देखिनै काम सुरु भए पनि अहिले योजनाले मूर्तरुप लिन लागेको हो ।

“हामी प्राविधिकरुपमा देखिएको समस्याको पहिचान गर्दै पानी वितरण परीक्षण पनि गरिरहेका छौँ, आयोजनाको काम छिट्टै सक्ने योजनामा छौँ”, वडाध्यक्ष तामाङले भने । हाम्रो उद्देश्य भनेकै बजारको खानेपानीको समस्या अन्त्य गर्ने हो । आयोजनाको भण्डारण ट्याङ्की निर्माण र पाइप ओछ्याउनेलगायतका भौतिक पूर्वाधारको सम्पूर्ण काम सम्पन्न भइसकेको छ । रासस