images

मुलपानीमा दर्शक क्षमता थोरै छ, नेपाल र यूएईको खेल घरमै बसेर हेरिदिनु होला – क्यान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल र यूएईबीच हुने सेमिफाइनल खेल घरबाटै हेर्न अनुरोध गरेको छ ।

काठमाडौंमा जारी आईसीसी टी-२० विश्वकप छनोट प्रतियोगिता अन्तर्गत शुक्रबार नेपाल र यूएईबीचको सेमिफाइनल खेल मुलपानी क्रिकेट मैदानमा हुने छ ।

ओमन र बहराइन बीचको अर्को सेमिफाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

समूह ‘ए’ बाट ओमन र नेपाल तथा समूह ‘बी’ बाट यूएई र बहराइन सेमिफाइनलमा पुगेका हुन् ।

नेपाल र यूएईको खेल हुने मूलपानी क्रिकेट मैदानमा तीन हजार ५०० मात्रै टिकट बिक्री हुने क्यानले जनाएको छ ।

सबै टिकट अनलाइनबाट काट्ने व्यवस्था गरिएको छ । मूलपानी क्रिकेट मैदानको क्षमता धेरै नभएकाले खेलप्रेमीलाई घरमै बसेर हेर्न अनुरोध गरेको हो ।

क्यानले भनेको छ, ‘सम्पूर्ण दशर्कलाई नेपाल र यूएईबीच हुने सेमिफाइनल खेल घरमै बसेर हेर्नुहुन हार्दिक अनुरोध गर्दछौं।’

त्यस्तै, क्यानले नेपाल र यूएईबीचको सेमिफाइनल खेलका लागि पास वितरण नगरिएको जनाएको छ। क्यानले भनेको छ, ‘क्रिकेटसँग सम्बन्धित सबै अतिथिहरूलाई समेत मूलपानी क्रिकेट मैदानको नेपाल र यूएईबीच हुने सेमिफाइनल खेलको पास वितरण नगरिएको हुँदा घरमै बसेर खेल हेर्दै सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौं।’

नेपाल र यूएईबीचको खेल मुलपानी क्रिकेट मैदानमा र ओमन र बहराइनबीचको खेल त्रिवि क्रिकेट मैदानमा शुक्रबार बिहान ११ बजे सुरु हुनेछ। सेमिफाइनल जित्ने दुई टोली टी-२० विश्वकपमा छनोट हुनेछन् ।