images
images

सन्दीप लामिछानेको मुद्दामा बहस नोट बुझाउन आदेश, ८ महिनासम्म पनि टुँगिएन मुद्दा

काठमाडौं । जिल्ला अदालत काठमाडौंले सन्दीप लामिछाने विरूद्धको बलात्कार मुद्दामा दुवै पक्षलाई बहस नोट बुझाउन आदेश दिएको छ ।

बिहीबार न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले एक महिनाभित्र अर्थात मंसिर २२ गतेसम्म बहस नोट बुझाउन दुवै पक्षका वकिललाई आदेश दिएको सन्दीपका वकिलले जानकारी दिएका छन् । उनका अनुसार अर्को पेशी मंसिर २४ मा तोकिएको छ ।

जिल्ला अदालतका दर्जन बढी न्यायाधीशहरूको इजलासमा यो मुद्दा परे पनि वकिलहरूले बहस सुन्नुको सट्टा बहस नोट माग्ने गरेका छन् ।

सर्वोच्च अदालतले मुद्दालाई चाँडै टुंगो लगाउनु भनेपनि काठमाडौं जिल्ला अदालत यसबारे उदासिन देखिएको छ ।

सन्दीपविरूद्धको मुद्दामा अन्तिम बहस सुरू हुने भनेर पेशी चढेको ८ महिना हुँदासमेत सुनुवाइ हुन सकेको छैन ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए। पुस १८ गते उच्चले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो।

उच्च अदालतको आदेशविरूद्ध महान्यायाधिवक्तको कार्यालय र सन्दीप लामिछाने सर्वोच्च पुगेका थिए। क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मागसहित सन्दीपले फागुन १२ गते शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए।

न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले राष्ट्रिय खेलाडी भएको भन्दै सन्दीपलाई विदेश जाने अनुमति दिएको थियो ।

त्यसपछि सन्दीपले नेपालको तर्फबाट दर्जनौ खेल खेलीसकेका छन् । तर मुद्दाको टुँगो अझै लागेको छैन ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS