images

जनकपुर विकासका लागि भारतले दिएको एक अर्बबाट रामजानकी रङ्गशाला बनाउन माग

काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर तीन वटा कामको लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको गठन आदेश शीघ्र जारी गर्न, राजर्षी जनक विश्वविद्यालयको केन्द्रीय कार्यालय सम्बन्धि निर्णय गर्न र रामजानकी अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण सम्बन्धि निर्णय गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

नेता निधिको अनुरोधप्रति आफू सकारात्मक रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यथाशीघ्र गठन आदेश जारी गर्ने आश्वासन दिनुभएको निधिको निजी सचिवालयले जनाएको छ ।

यसैगरी उनले राजर्षी जनक विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि जग्गा प्राप्ति अन्तिम चरणमा रहेकाले त्यससम्बन्धी निर्णय गर्न पनि प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर भ्रमणका क्रममा जनकपुरको विकासका लागि रु एक अर्ब सहयोगको प्रतिबद्धता जनाउनुभएको स्मरण गराउँदै नेता निधिले सो रकम रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालामा लगानी गर्न मधेश प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकालाई समेत सुझाव दिएको जानकारी गराएका थिए । रासस