images

निकुञ्जमा गैडा मारिएको घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन, १० दिनभित्र रिपोर्ट दिने

चितवन । वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानबिन गर्न समिति गठन गरेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो ।

मन्त्रालयले सचिवस्तरीय निर्णय गरी १० दिनभित्र प्रतिवेदन बुझाउने गरी शुक्रवार समिति बनाएको हो ।

समितिमा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका प्रमुख सेनानी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक, राष्ट्रिय निकुञ्ज विभागका कानुन अधिकृत र अनुसन्धान अधिकृत हुन् ।

उपमहानिर्देशक ढकालले आइतबार चितवन आएर स्थलगत रूपमा काम सुरु गर्ने बताए । घटनास्थलको अध्ययन र सरोकारवालासँग छलफल गरी घटनाबारे वस्तुस्थिति हेरिने उनले बताएका छन् ।

आवश्यक प्रमाण सङ्कलन गरी भएका कमी–कमजोरी र सुधार गर्नुपर्ने विषयसमेत समावेश गरी प्रतिवेदन तयार गरिने छ ।

राष्ट्रिय निकुञ्जमा दुईवटा एकसिङ्गे गैँडा तस्करले धरापमा पारेर मारेपछि छानबिन गर्न समिति गठन गरिएको हो । गत बिहीबार दुईवटा पोथी गैँडा खाग र खुर काटिएको अवस्थामा मृत भेटिएका थिए ।

निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रको वडेला खोला नजिकै छ र १८ वर्ष उमेरका पोथी गैँडा मारिएको अवस्थामा फेला पारिएका थिए । छ वर्षे गैँडा तीन दिन र १८ वर्षे गैँडा मारिएको १० दिन पछाडि फेला पारिएको अनुमान गरिएको छ ।

हाल नेपालमा चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ गैँडा र देशभर सात सय ५२ गैँडा छन् । रासस