images
images

देउडा सङ्गीतलाई फराकिलो बनाउँदै गायिका निरुता 

देउडा गीतको क्षेत्रमा निरुता खत्री नयाँ नाम होइन। देउडा गीतमा चलेका गायिकाहरूको मध्ये उनको नाम अग्रस्थानमै आउने गर्छ।  उनले स्वर भरेका गीतले उनको साङ्गीतिक आकाश थप फराकिलो बनाएको छ। आम लोकगीत पारखीमाझ पनि निरुता फैलिएकी छिन्। 

सुदूरपश्चिमको अछाम जिल्ला ढकारीमा जन्मिएकी निरुताको बाल्यकाल भने निकै सङ्घर्षमा बित्यो।सानैदेखि देउडा गीत गुनगुनाउने निरुता पछिल्लो समय देउडा सङ्गीमा आफ्नो भविष्य खोज्दै रमाई रहेकी छिन्। 

घाँसपात,मेला पाखा अनि उकाली ओराली गर्दै गर्दा निरुता सानै देखि देउडा गीतहरू गुनगुनाउँथिन् उनी ।स्कुलमा पढ्दा पनि अरू बालिका भन्दा पृथक् सोच र सक्रियता थियो निरुताको।स्कुलमा हुने अतिरिक्त क्रियाकलापमा समेत निरुता सहभागी हुन्थिन। स्कुल पढ्दा नै राम्रो भलिबल र एथ्लेक्टीस अन्तरगत कबड्डी,दौड लगायतका क्षेत्रमा खेलाडीको पहिचान बनाएकी निरुताले अछाम स्थित एक स्थानीय एफएममा समेत काम गर्ने मौका पाएकी थिइन। 

एफएममा काम गर्दागर्दै उनलाई गीत रेकर्डिङको अफर आयो। उनले २०७२ सालमा डन्डाराज जोशीको शब्द र टङ्क तिम्लिसेनाको सङ्गीत रहेको ‘कस्तो माया बस्यो नि अच्चम’ भन्ने झ्याउरे भाकामा गीतमा स्वर भरिन। 

उक्त गीतले राम्रै चर्चा पायो। त्यसपछि धेरैले उनलाई गीत–सङ्गीतमै लाग्न सुझाए। देउडा गीतका लागि उपयुक्त स्वर रहेको बताउन थाले। त्यही सुझाव र प्रेरणाले उनी आफूलाई यही क्षेत्रमा सक्रिय बनाउन थालिन्। 

उनले देउडा गीतका सबै विधामा स्वर भरेकी छिन्।  सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा देउडामार्फत हुने सवाल जवाफ हुने, एकान्तमा बसेर विरह पोख्ने ठाडी भाका वा छमछम नाच्ने सबै गीतमा उनले आफूलाई प्रमाणित गरेकी छिन्।

एकै दिनमा तीन चार वटा गीत रेकर्ड गर्ने अवसर समेत पाएको निरुता सुनाउँछिन्। उनले देउडाका अलावा लोकदोहोरी गीतमा समेत स्वर भरेकी छिन।

निरुता भनेर चिनाउने गीतहरू मध्ये भुवन दाहाल र उनको स्वरमा रहेको  चुल्ठीमा रिबनको डोरी,अब म परदेशी भया,प्रदेश मेरो भाग,दारु जन खाया,तेरी सौता ल्याउँदो भया लगायतका दर्जन बढी गीत रहेको उनी सुनाउँछिन्।

उनका गीतमा मनोरञ्जन मात्रै होइन। समाजका बेथिति र विसंगीहरु विरुद्धको चेतनाको भाव समेत झल्किरहेको पाइन्छ। उनको अघिल्लो पुस्तामा समेत थुप्रै चलिसकेका गायिकाहरू डिक्रा वादी, शोभा थापा, हरिनु,पुष्पा, गौरी भट्ट र रेखा जोशी लगायतका कलाकारहरूले आफ्नो पहिचान बनाई सकेका थिए। तर त्यो पहिचानमा आफ्नो नाम अग्रस्थानमा दर्जा गराउन निरुता पनि सफल भइन।

उनलाई गीत गाउने अफर आइरहन्छन्। चेतनाका लागि पनि आफूलाई अग्र भागमा उभ्याइरहेकी छिन्। सुरु सुरुमा गीत गाउँदै गर्दा घर परिवारको त्यति साथ सहयोग नपाएको भए पनि अहिले उनको कर्म र नाम प्रति परिवारजन समेत खुसी छन्। ‘मेरो ठुलोको मलाई प्रेरणा रह्यो। उहाँले भनेको कुरा अहिले पनि मलाई स्मरण छ। विश्वका जुनसुकै कुनामा जाऊ। राम्रो गर। बिहे र बदनाम मात्रै नगराउनु भन्नु हुन्थ्यो उनी सुनाउँछिन्।’

म्युजिक क्षेत्रमा भएका कमीकमजोरी सुधार गर्दै त्यसैमा रम्ने उनको ठुलो चाहना छ। देउडा मार्फत सुदूरपश्चिमको भाषा,संस्कार,संस्कृतिहरूको प्रचार प्रसार गरिरहेकी छिन।डेढ पाइला अगाडि अनि डेढ पाइला पछाडि गरेर खेलिने खेलको रूपमा रहेको देउडामा उनले कयौँ पटक अन्तरा हालेर समेत खेलेकी छन्। देउडाबाट उनलाई सवाल जवाफ गर्न मन पराउँछिन् निरुता।

देउडा मार्फत उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका थुप्रै कार्यक्रममा आफ्नो उपस्थिति समेत जनाइसकेकी छिन। निरुता सन् २०१९मा कतार,२०२३ मा कोरिया लगायत भारतमा हुने थुप्रै संस्कृति कार्यक्रममा आफ्नो उपस्थिति जनाइसकेकी छिन्। 

कलाकार नै भएर बाँच्न गाह्रो भइरहेको गुनासो सुनिरहँदा निरुता भने निरन्तरताको साधना भयो भने गाह्रो नहुने बताउँछिन्। देउडाको पहिचान र संस्कृतिको जर्गेना गर्नका लागि सरकार र सरोकारवाल निकायहरू संवेदनशील हुनु पर्ने सुझाव समेत निरुताको छ। 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS