काठमाडौं । भारतको अयोध्यामा भगवान श्री रामको नवनीर्मित मन्दिरमा प्राण प्रतिष्ठाको अवसर पारेर जनकपुरधामबाट भार (उपहार)यात्रा अयोध्याका लागि प्रस्थान गरेको छ ।
जनकपुरधामस्थित जानकी मन्दिरमा आयोजित एक कार्यक्रमकाबीच जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र मधेस सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले विदाई गरेपछि भार यात्रा अयोध्याका लागि प्रस्थान गरेको हो ।
विहिबार राती भार यात्रा विरगंजमा विश्राम गर्नेछ भने जनवरी ५ तारिखमा अयोध्या पुग्ने छ । अयोध्या पुगेको भोलीपल्ट भार यात्रामा लगिएका पाहुर अयोध्यास्थित रामजन्मभूमि तिर्थ क्षेत्र ट्रष्टलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ एवं भार यात्राका संयोजक रामरोशन दास वैष्णवले जानकारी दिए ।
मैथिल परम्पराअनुसार छोरीको घरमा हुने शुभकार्यमा माइती पक्षबाट विशेषरूपमा कोसेली पठाउने गरिन्छ । सोही परम्पराअनुसार राममन्दिर उद्घाटनका अवसरमा माता सीताको माइतीपक्ष जनकपुरधामबाट एक हजार एक सय भार त्यसतर्फ पठाइएको हो । भारमा विभिन्न प्रकारका आभूषण, भाँडा, कपडाका साथै मिठाइलगायतका भार बाँसबाट बनाइएका विशेष चङ्गेरमा सजाइएका छन् ।
यसका साथै भगवान रामका लागि चाँदीको धनुष वाण, माता सीताको चरण पादुका लगायतका गरगहना समेत पाहुरमा राखिएको छ । जनकपुरधाम निस्किएको भार यात्रा महोत्तरीको जलेश्वरस्थित हुलाकी सडक हुँदै मलंगवा पुग्ने कार्यक्रम रहेको छ । मलंगवाबाट बारास्थित गढीमाइ दर्शनपछि वीरगञ्जमा रात्री विश्राम गर्ने कार्यक्रम रहेको छ ।
विरगञ्जमा वास बसेको भोली पल्ट निस्किने भार यात्रा भारतको बेतिया, कुशी नगर, सिद्धार्थ नगर, गोरखपुर हुँदै अयोध्या पुग्नेछ । जनवरी २२ तारिखमा भारतको अयोध्यामा निर्माण गरिएको नयाँ मन्दिरमा भगवान रामको प्रतिमाको पाण प्रतिष्ठा हुने कार्यक्रम रहेको छ ।