images

नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव चैत एक गते देखि हुने

काठमाडौं–नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निफको सातौं संस्करण चैतको १ देखि ५ गतेसम्म हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा निफको सातौं संस्करण हुन लागेको हो ।

संस्करणमा समसामयिक विषयमा स्वदेशी तथा विदेशी चलचित्रकर्मीका रोचक र अर्थपूर्ण छलफलका सत्र सञ्चालन हुने बताइएको छ । ६० देशबाट प्राप्त ५ सय बढी चलचित्रबाट निफले सातौं संस्करणमा ४० देशका ८८ वटा फिल्म छानेको नेपाल अन्तर्रास्ट्रिय चलचित्र महोत्सव आयोजक समितिका अध्यक्ष के.पी पाठकले जानकारी दिए ।

छनौटमा परेका थुप्रै चलचित्रहरु कान्स, लोकार्नो, बर्लिनाल आदि प्रतिष्ठित फेस्टिभलमा पनि प्रदर्शन भइसकेका छन् । फेस्टिभललाई राष्ट्रिय अन्तर्राष्ट्रिय दुई भागमा विभाजन गरी, दुवै भागमा फिचर चलचित्र, लघु फिल्म र वृत्तचित्र विधामा अवार्ड वितरण गरिनेछ ।

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ । सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको माउण्ट एभरेष्ट अवार्ड र सर्वोत्कृष्ट लघु चलवित्रलाई ५ सय डलर राशिको बागमती अवार्ड प्रदान गरिनेछ । यसैगरी नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी प्रदान गरिनेछ । सर्ट फिल्ममध्येवाट उत्कृष्ट निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ ।

चलचित्र विकास बोर्डका अध्यक्ष भवन केसीले नेपाली चलचित्रमा विदेशी लगानी ल्याउनुपर्ने बताएका छन् ।