images

‘साम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट

काठमाडौं–मीनबहादुर भाम निर्देशित फिल्म ‘साम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको छ । उक्त फेस्टिभलको यो विधामा छनोट हुने ‘साम्बाला’ पहिलो नेपाली फिचर फिल्म हो । यसले अन्य १९ फिल्मसँग सर्वोच्च पुरस्कार गोल्डन बेयरका लागि प्रतिस्पर्धा गर्नेछ ।

उच्च हिमाली गाउँकी एक गर्भवती महिलालाई श्रीमानले छोडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा हिँडेको कथामा फिल्म आधारित छ ।

फिल्ममा निर्देशक भाम र अविनाशविक्रम शाहको लेखन रहेको छ । अविनाश तिनै हुन्, जसले निर्देशन गरेको सर्ट फिल्म ‘लोरी’ले कान्स फिल्म फेस्टिभलमा ग्राण्ड जुरी पुरस्कार जित्न सफल भएको थियो । उनी ‘कालो पोथी’का पनि लेखक हुन् ।

सुनी फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको ‘साम्बाला’मा थिन्ले ल्हामो, सोनम तोप्द्न, तेन्जिङ डल्हालगायतको मुख्य भूमिका छ । फिल्मले थुप्रै अन्तर्राष्ट्रिय ‘ग्रान्ड’ जितिसकेको छ । डोल्पामा छायांकन गरिएको यो फिल्मको बजेट करिब १४ करोड रुपैयाँ रहेको जनाइएको छ ।