images

गायिका मीरा राणालाई दीर्घसाधनाद्वारा सम्मान गरिने

काठमाडौं– अग्रज गायिका मिरा राणालाई दीर्घसाधना मार्फत सम्मान गरिने भएको छ । विन्ध्यवासिनी फाउण्डेशनले आफ्नो दशौं वार्षिकोत्सव एवम् १४औं विन्ध्यवासिनी म्युजिक अवार्डको अवसर पारेर प्रतिष्ठित गायिका राणालाई दीर्घसाधना सम्मान अर्पण गर्ने निर्णय गरेको हो ।

राणालाई सम्मानका साथ एक लाख रूपैयाँ राशी सहितको विन्ध्यवासिनी दीर्घसाधना सम्मान गर्ने आयोजकले जनाएको छ ।

त्यसैगरी ५० हजार रूपैयाँसहितको विन्ध्यवासिनी संगीतसाधना सम्मान संगीतकार भुपेन्द्र रायमाझीलाई प्रदान गर्ने निर्णय गरिएको छ । यस वर्षको प्रेमध्वज संगीत रत्न सम्मान गायक रूपक डोटेललाई प्रदान गरिने भएको छ । त्यस्तै झलकमान लोकसंगीत सम्मान लोकप्रिय गायक राजु परियारलाई प्रदान गरिने भएको छ भने विन्ध्यावसिनी कला पत्रकारिता सम्मान पत्रकार शान्तिप्रियालाई प्रदान गर्ने फाउण्डेशनले निर्णय गरेको छ ।

यी तीनवटै पुरस्कारको राशि २५/२५ हजार रूपैयाँ छ । आगामी चैत १ गते राष्ट्रिय नाचघर जमलमा आयोजना हुने विन्ध्यवासिनी म्युजिक अवार्डको १४औं संस्करणमा यो सम्मान प्रदान गरिने फाउण्डेशनका अध्यक्ष लिना शर्मा रेग्मीले जनाएकी छिन् ।