images
images

भारतको एक पटाका कारखानामा विस्फोट हुँदा ११ जनाको मृत्यु

काठमाडौं– भारतमा मंगलबार एक पटाका कारखानामा भएको भीषण विस्फोटमा ११ जनाको मृत्यु भएको छ । विस्फोटमा परी अन्य ८० जना घाइते भएका छन् । भारतीय टेलिभिजनको फुटेजमा पटाका कारखानामा विस्फोटपछि आगोको ज्वाला उठेको देखिएको छ र घाइतेलाई निकाल्नका लागि दर्जनौँ एम्बुलेन्स पठाइएको छ भने सेनाको हेलिकप्टरलाई समेत बोलाइएको छ ।

वरिष्ठ जिल्ला प्रहरी अधिकारी राजेश्वरी महोबियाले मध्य प्रदेश राज्यको हरदामा कारखानामा भएको विस्फोटमा अहिलेसम्म ११ जनाको मृत्यु र करिब ८० जना घाइते भएको जानकारी दिएका छन् । उनले मृतकको सङ्ख्या बढ्नसक्ने बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई क्षतिपूर्तिका रूपमा दुई हजार चार सय अमेरिकी डलर र घाइतेहरूलाई छ सय डलर दिइने घोषणा गरेका छन् । उनका अनुसार कारखानामा दुई सयदेखि तीन सय मानिस काम गर्थे तर विस्फोटको समयमा कारखानाभित्र कति मानिस थिए भन्ने थाहा भएको छैन् ।

विस्फोट भएको परिसर वरपर कम्तीमा १० भवन विस्फोटको तीव्रताका कारण क्षतिग्रस्त भएका छन् । मृतकहरूमा आगलागीबाट बच्ने क्रममा हडबडाहटले भाग्दा कुल्चिएर मर्नेहरू पनि रहेको एक प्रहरीले बताएका छन् । भारतमा पटाका कारखानामा प्राय विस्फोट भइरहन्छन् ।

विशेषरूपमा हिन्दूहरूको पर्व दीपावलीको समय र विवाह समारोहमा प्रयोग गर्न भारतमा पटाका अत्यन्त लोकप्रिय छ । यद्यपि धेरै कारखाना आधारभूत सुरक्षा आवश्यकताहरू पालना गर्न र अनुमतिसहित सञ्चालन गर्न असफल छन् ।