images

प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदहरूलाई रास्वपाको ह्वीप

काठमाडौं– सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ।

मंगलबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो। ‘बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ र त्यही्अनुसार सबै सासंदलाई संसद्‌मा अनिवार्य उपस्थित भएर विश्वासको मत दिन निर्देशन दिएको (ह्वीप जारी गरिएको) छ।’ रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले भने ।

प्रधानमन्त्री प्रचण्डले यही फागुन ३० गते संसद्‌मा विश्वासको मत लिँदै छन्। प्रधानमन्त्री प्रचण्डले यही फागुन २१ गते कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको नयाँ गठबन्धन बनाएका हुन्। जसमा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा र एकीकृत समाजवादी छन्। यी पाँच दलसँग सुविधाजनक बहुमत छ।

सत्ताबाट बाहिरिएपछि कांग्रेसले प्रचण्ड सरकारलाई दिएको समर्थन यही फागुन २२ मा फिर्ता लिएको थियो। कुनै दलले समर्थन फिर्ता लिएमा वा सरकारमा सहभागी दल विभाजन भएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

गत वर्ष पुस ११ मा प्रधानमन्त्री नियुक्त प्रचण्डले तेस्रोपटक विश्वासको मत लिन लागेका हुन्। यसअघि उनले गत वर्ष पुस २६ मा पहिलोपटक र चैत ६ मा दोस्रोपटक विश्वासको मत लिएका थिए।