images

लिखित सहमतिपछि माधव नेपाल गठबन्धनलाई सघाउन तयार

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सत्ता गठबन्धनको सहमतिमा हस्ताक्षर गरेका छन्।

मंगलवार सिंहदरबारमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटवार्तापछि अध्यक्ष नेपालले लिखित सहमतिमा हस्ताक्षर गरेका हुन्।

यसअघि एमाले, माओवादी, रास्वपा र जसपाले आठ बुँदे सहमति गरेका थिए । अब नेकपा एकीकृत समाजवादीले पनि हस्ताक्षर गरेपछि पाँच दलीय गठबन्धन बनेको छ। यो सँगै नेकपा एकीकृत समाजवादी राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा गठबन्धनका उम्मेदवार र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन तयार भएको छ।

अध्यक्ष नेपालले उठाएका माग समेटेर पाँचै दलले हस्ताक्षर गर्ने सहमतिपछि उनी सत्ता गठबन्धनका पक्षमा मत दिन तयार भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन्।

यही फागुन २१ गते गठित नेकपा मा‌ओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबिच बनेको नयाँ गठबन्धनको सरकारमा सहभागी हुँदा नेकपा एकीकृत समाजवादीले पाँच वटा सर्त अघि सारेको थियो। प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्म पावर शेयरिङ हुनुपर्ने विषय एकीकृत समाजवादी पार्टीले उठाएको विषय चर्चामा छ ।

प्रधानमन्त्री प्रचण्डले यही फागुन २१ गते कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको नयाँ गठबन्धन बनाएका हुन्। जसमा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा र एकीकृत समाजवादी छन्। यी पाँच दलसँग सुविधाजनक बहुमत छ।

सत्ताबाट बाहिरिएपछि कांग्रेसले प्रचण्ड सरकारलाई दिएको समर्थन यही फागुन २२ मा फिर्ता लिएको थियो। कुनै दलले समर्थन फिर्ता लिएमा वा सरकारमा सहभागी दल विभाजन भएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।