images

सुर्ती, खैनी तथा गुट्खा उत्पादनमा प्रतिबन्ध लगाउन सांसदहरूको माग

काठमाडौं– सांसदहरूले सुर्ती, खैनी तथा गुट्खा उत्पादनमा प्रतिबन्ध लगाउन माग गरेका छन् ।
मङ्गलवार सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सांसदहरूले यस्तो माग गरेका हुन् । उनीहरूले सुर्तीजन्य उद्योगहरूको उत्पादनको लागि मात्रै क्षमता अभिवृद्धि गर्ने हो भने पञ्चायत कालमा सञ्चालन भएको जनकपुर चुरोट कारखाना सञ्चालन गर्नुपर्ने तर्क गरे । उद्योगको पुँजी वृद्धि तथा क्षमता अभिवृद्धिको अनुमति दिइसकेपछि सो विषयमा छलफल गर्नुको औचित्य नरहेको सांसदहरूको भनाइ छ ।

जनता समाजवादी पार्टीकी सांसद रेखा यादवले सरकारले युवाहरूलाई श्रम दिने कुरामा ध्यान दिने हो भने रुग्ण उद्योगहरूलाई सञ्चालन गर्नुपर्ने बताइन् ।

बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले कानुन मानेर खोलिएका उद्योगहरू सरकारले सञ्चालन गर्न दिनुपर्ने तर्क गरे । सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणको लागि र बिक्री वितरणका लागि तोकिएको नियमनका प्रक्रियाको कार्यान्वयन गर्न आवश्यक रहेको उनको भनाइ छ ।
०००