images

संसदमा तेस्रो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधवार संसदमा विश्वासको मत लिँदै छन् ।

उनले यो संसदमा तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । एक साताअघि कांग्रेससहितको गठबन्धन तोडेर एमाले र रास्वपालगायतसँग नयाँ गठबन्धन बनाएर मन्त्रिपरिषद् फेरबदल गरेका थिए । यससँगै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीलाई विश्वासको मत लिने बाध्यता आइपरेको हो । संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा विश्वास प्राप्त गर्न प्रधानमन्त्रीले पेस गर्ने प्रस्ताव छलफल पश्चात् निर्णयार्थ प्रस्तुत गरिनेछ । बिहान ११ बजे बस्ने बैठकको सम्भावित कार्यसूची अनुसार विश्वासको मत लिने प्रस्ताव पेस गर्नुअघि सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने छन् ।  त्यसपछि सभामुखले तोकिएको प्रक्रियामार्फत टुङ्गो लगाउने छन् । माओवादी केन्द्रसहित सत्ता साझेदार एमाले, रास्वपा, जसपा र एकीकृत समाजवादीले प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित भएर प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफ्ना सांसदलाई ‘ह्विप’ जारी गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसले भने विपक्षमा मत दिने निर्णय गरेको छ । अघिल्लो वर्षको पुस १० गते प्रधानमन्त्री भएका दाहालले २६ गते २७० सांसदमध्ये २६८ जनाको समर्थन पाएका थिए । दोस्रो पटक एमालेसँगको गठबन्धन तोडिएसँगै चैत ६ गते उनले १७२ सांसदको समर्थन पाएका थिए ।