images

रन्जितालाई रेशमको मार्मिक सन्देश: मैले तिमीलाई सम्झाउन सकिन प्रिय ! (स्ट्याटससहित)

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी नाउपाका संरक्षक रेशम चौधरीले पत्नी रन्जिता श्रेष्ठसँगको राजनीतिक विवाद सामाजिक सञ्जालमा पोखेका छन् ।

प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्ने नगर्ने भन्ने विषयमा रेशम र रन्जिताबीच रहेको विवाद सामाजिक सञ्जालमा छताछुल्ल भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा उनले पार्टीको अवस्थाबारे व्याख्या गर्दै आफू र पार्टी अध्यक्ष रन्जिता श्रेष्ठबिच भएको असमझदारी घर झगडा नभई राजनैतिक रहेको प्रस्टाएका छन् ।

‘विषय जित हारको होइन, आज जिते प्रचण्ड,ओली जित्लान् । भोलि फेरि देउवा जित्लान् ’ उनले लेखेका छन्, ‘सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धन भनेको साना दललाई सिद्ध्याउने नै हो । त्यसैले हामी कसैका पछाडि नलागौँ,आफ्नो पार्टी निर्माणमा जुटौँ ।’

जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो भन्दै रेशम लेख्छन्, ‘सन्दर्भ: घर झगडा हुँदै होइन,विषय राजनैतिक हो । मैले जानेको बुझेको यही हो । आज पनि हेर्नुस् , एमाले,माओवादी,कांग्रेस । यी ठुला दलका नेता,कार्यकर्ता सांसद कतै चलमलाएका छन् र तर एकीकृत समाजवादी,जसपा,नाउपा,लोसपा,रास्वपा,राप्रपा जस्ता साना दलमा कत्रो भुईँचालो गएको छ ?’

उनले यी उदाहरणहरूलाई देखाउँदै कुनै पनि गठबन्धनका पछाडि नलाग्न आग्रह गरेका छन् । रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी कांग्रेस कम्युनिस्ट नभई भौगोलिक सांस्कृतिक पहिचानसहितको सङ्घीयताका लागि समुदायमा आधारित समाजवाद प्रतिउत्पादनका लागि जन्मेको पार्टी रहेको बताएका छन् ।

आफू र श्रीमती रन्जिताको विषयमा उनी लेख्छन्,‘ म उनलाई सम्झाउन कैलालीबाट काठमाडौँ आएकै हुँ । दुई घण्टा वार्ता गरेकै हुँ,उनी टस कि मस भइनन् । उनको भनाइ छ – प्रचण्डले हाम्रो राजबन्दी रिहाइ गरे,हामीले उनको साथ छोड्नुहुन्न । ’

उनले टिकापुर घटनापछि पनि प्रचण्ड दुईचोटी प्रधानमन्त्री भएको तर रिहा नगरेको बताएका छन् ।

‘अहिले पनि कसैको कृपाले राजबन्दी रिहाइ गरेका होइनन्, दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाइ भएका हौँ र तिमी पनि मन्त्री भएकी हौं । नागरिक उन्मुक्ति पार्टीले पाउने एक मन्त्रालयबाट हामीले केही उख्ल्नेवाला छैनौँ । जताबाट पनि भलो ठुलै दलको हुने हो,हामी एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनु भनेको सिद्धिनु हो’ उनले रन्जितालाई भनेको कुरा सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

उनले केन्द्रीय कमिटीको निर्णय नमान्नेलाई कारबाही हुने भन्दै कारबाही भोग्न पनि तयार हुनु पर्ने उल्लेख गरेका छन् ।

अन्तिममा रेशम लेख्छन्,‘ मेरा कारण लाखौँ जनताको मन दुखेको मलाई अनुभूत भएको छ,त्यस कारण म क्षमा चाहन्छु तर पहिचानको आन्दोलनको सिपाही हुँ । कहिल्यै हार मान्ने वाला छैन । म अब आफ्नो घरपरिवारको भन्दा जनताको मान्छे हुँ । रन्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो,हार होइन।’