images

महरा अस्वस्थ भएकाले करुणाका आधारमा छुटेः गृहमन्त्री

काठमाडौं– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा अस्वस्थ रहेकाले उनलाई हाजिरी जमानीमा रिहा गरिएको स्पष्ट पारेका छन् ।

शनिबार पार्टीले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले महरालाई मानवीय संवेदना र करुणाका आधारमा हाजिरी जमानीमा रिहा गरिएको बताएका हुन् ।

‘८–१० वटा औषधि सेवन गरिरहनुभएको छ, अत्यन्त बिरामी हुनुहुन्छ, सम्मानित अदालतले पनि बिरामी हुनुभएको कुरा इंगित गरेको छ । राज्य निर्मम हुन सक्छ, कठोर हुन्छ, तर राज्यसँग करुणा भएन भने त्यो अन्याय हुन जान्छ’, लामिछानेले भने ।

उनले अगाडि भने, ‘त्यसैले धेरै बिरामी अत्यन्त नाजुक स्वास्थ्य अवस्था भएको मान्छेलाई कसैको हाजिरी जमानीमा छाडेको कुरालाई अतिरञ्जित गर्नुपर्दैन ।’

सुन तस्करी प्रकरणमा जाँचबुझ आयोगले कारबाही गर्न सिफारिस गरेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले माओवादी उपाध्यक्ष महरालाई पक्राउ गरेको थियो । उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न सीआईबीले अनुमति मागेकामा जिल्ला अदालत काठमाडौंले ४ दिन मात्र समय दिएको थियो । त्यो पनि उनको स्वास्थ्य अवस्था कमजोर भएकाले अस्पतालमा बस्न दिन भनेको थियो ।

अदालतले दिएको ४ दिनको समय सकिएपछि महरा शुक्रबार हाजिरी जमानीमा छुटेका छन् ।