images
images
images

विश्वकप छनोट खेल्न अयोग्य ठहरपछि आकर्षक बन्दै दशरथ रङ्गशाला

काठमाडौं । नेपालको एक मात्र अन्तर्राष्ट्रिय फुटबल रंगशालामा नै विश्वकप छनोट चरणको खेल खेल्न अयोग्य भएपछि नेपाली खेलकुद निकायको सर्वत्र आलोचना भयो।
त्रिपुरेश्वरको दशरथ रङ्गशाला नै नेपाली फुटबलको एक मात्र अन्तर्राष्ट्रिय मापदण्डको खेलमैदान हो। तर, यही मैदान खेल्न योग्य भएन र नेपालले विश्वकप छनोट चरणअन्तर्गत बहराइनसँगको ‘होम म्याच’ गुमाउनुपरेको थियो।
एएफसीका प्रतिनिधिले नै निरीक्षण गर्दै दशरथ रङ्गशालामा खेल्न योग्य नभएको प्रतिवेदन तयार पारेपछि नेपालबाट आयोजनाको अधिकार खोसिएको हो। त्यससँगै नेपाली खेलकुदको कार्यकारी राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मैदानको संरक्षण गर्ने जिम्मेवारी पाएको एन्फाबाट त्यो अधिकार खोसेको थियो। त्यसयता राखेपले नै मैदानको संरक्षण गर्दै आएको छ।
हाल माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट प्रा.लि.ले दशरथ रङ्गशालाको घाँसे मैदानलाई निकै आकर्षक बनाएको छ। माउन्ट एभरेस्ट स्पोर्ट्स प्रा.लि. फुटबलको मैदानमा निर्माणसम्बन्धी काम गर्दै आएको संस्था हो। राखेपले सो कम्पनीलाई काम गर्न ठेक्का दिएको हो। राखेपका सदस्यसचिव टङ्कलाल घिसिङले जिम्मेवारी पाएको एन्फाले राम्रोसँग काम गर्न नसकेपछि देशका प्रतिष्ठासँग जोडिएको आयोजनालाई जोगाउन परिषद्कै जिम्मेवारीमा राखिएको बताए।
अब एन्फाले दशरथ रङ्गशालामा खेल आयोजना गर्न परिषद्को स्वीकृति लिनुपर्ने सदस्य घिसिङको भनाइ छ।
अन्य विभिन्न खालका इभेन्ट आयोजनाका लागि भने राखेपले दशरथ रङ्गशालामा नदिने स्पष्ट पारेको छ। रङ्गशालाका मैदानमा मात्र नभएर सेन्थेटिक ट्र्याकसमेत संरक्षण गर्न राखेपले कार्यदल नै बनाएको छ।
व्यावसायिक खेलाडीलाई मात्र रङ्गशालामा अभ्यास गर्ने वातावरण बनाउने राखेपको तयारी छ।
राखेपले नेपाली खेलकुदमा खराब परिस्थिति दोहोरिन नदिन दीर्घकालसम्म दशरथ रङ्गशालाको व्यवस्थापकीय जिम्मेवारी आफैँमा सीमित राख्ने जनाएको छ। खेल्नका लागि योग्य खेल मैदानमा बनाइराख्न राखेपले काम गर्ने राखेप सदस्यसचिवको भनाइ छ।
यदि यो मैदानमा कसैले आगामी दिन खेल हुन योग्य छैन भन्नु भन्दा अगाडि राखेपसँग पनि सहकार्य गर्न आग्रह गरे।
राखेपले आगामी जेठ १४ गतेसम्म दशरथ रङ्गशाला तयार गर्न माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट प्रालीलाई जिम्मेवारी दिएको छ। तर माउन्ट एभरेस्टले केही हप्तामा नै अन्तर्राष्ट्रिय खेल खेल्न योग्य बनाउने विश्वास व्यक्त गरेको छ। माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट प्रालीका निर्देशक थमन भुसालले पछिल्लो एक महिनादेखि मैदानलाई मलजल गर्ने, लेभल गर्ने र हरियो बनाउने काम गरिरहेको बताए। भविष्य नयाँ प्रविधि प्रयोग गरेर यो रङ्गशालालाई राम्रो बनाउने भुसालको विश्वास छ।
विश्वकप छनोट चरणअन्तर्गत आगामी जुन ६ मा नेपालको संयुक्त अरब इमिरेट्स (युएई) सँग ‘होम म्याच’ तय छ। उक्त ‘होम म्याच’ दशरथ रङ्गशालामा नै खेल्न योग्य हुने गरी राखेपले तयारी गरिरहेको छ। यद्यपि त्यसको लागि एन्फाको भूमिका पनि महत्त्वपूर्ण हुने राखेपले उल्लेख गरेको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS