काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चार मन्त्रालय भ्रष्टाचारको अखाडा रहेको खुलासा गरेकी छन् ।
प्रेस सेन्टरको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
‘सञ्चार मन्त्रालय आम सञ्चार क्षेत्रको मन्त्रालय हो यसमा धेरै निकाय रहेका छन्, थुप्रै ठाउँमा अनियमितता भएको पाएको छु ।’ उनले भनिन् ।
धेरै माथि मुद्दा चलाइएको भन्दै उनले सञ्चार मन्त्रालय सुशासनको क्षेत्रमा कठोर भएर अगाडि बढेको बताइन् । मन्त्री शर्माले सुशासनको लागि आफू लागिपरेको भन्दै आम सञ्चारको क्षेत्रमा थुप्रै नीतिगत काम गरेको बताइन् ।
मिडिया काउन्सिल विधेयक पेस भएको बताउँदै उनले रेडियो नेपाल र नेपाल टेलिभिजन गाभ्ने गरी प्रसारण ऐन बनाउने काम भइरहेको बताइन् ।
सामाजिक सञ्जालको नियमन गर्ने नीति बनाउने काम भइरहेको बताउँदै मन्त्री शर्माले आम सञ्चार ऐन कानुन मन्त्रालयमा गएको र त्यहाँबाट मन्त्रिपरिषद्मा पेस गर्ने जानकारी दिएकी छन् ।