काठमाडौं । अर्जुन कुमालको शतकका बाबजुद नेपाल ए तीन एक दिवसीय शृंखलामा क्लिन स्वीपबाट जोगिन असफल भएको छ ।
आइतबार सम्पन्न खेलमा घरेलु टोली नेपाल आयरल्यान्ड उल्भ्ससँग ६९ रनले पराजित भएको हो । आयरल्यान्डले दिएको २८५ रनको लक्ष्य पछ्याएको नेपालले ३९ ओभर४ बलमा २१५ रन मात्रै बनाउन सक्यो । नेपालका अर्जुन कुमालले सर्वाधिक १०२ रन बनाए । ११८ बल खेलेका उनले १४ चौका प्रहार गरे । अर्जुन साउद ३६ तथा नरेन भट्ट र रुपेश सिंह १५/१५ रनमा आउट हुँदा अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । आयरल्यान्डका बेन ह्वाइटले सर्वाधिक ५ विकेट लिए । गेभिन होईले ४ विकेट लिँदा म्याथ्यू फोस्टरको नाममा १ विकेट रह्यो ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्डले ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनाएको थियो । आयरल्यान्डको जितमा स्टेफन डोहेनीले १२९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक १०७ रनको शतकीय इनिङ खेलेका थिए । पिटर मुरले ४४ रनको आक्रामक इनिङ खेले । केड कार्माइकल २१, निल रक १, गेभिन होइ १४, फिओन ह्यान्ड २० रनमा आउट भए । डेब्यू खेल खेलेका बायाँ हाते स्पिनर स्पिनर रञ्जित कुमारले ३ विकेट लिए । तीव्र गतिका बलर रिजनले पनि ३ विकेट लिँदा विकास आग्री र साहब आलमले १/१ विकेट लिए । नेपाल पहिलो खेलमा २७ रन र दोस्रोमा ११४ रनले पराजित भएको थियो ।