images

एक इरानी र्‍यापरलाई मृत्युदण्डको सजाय

काठमाडौं–सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा एक इरानी र्‍यापरलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

२०२२ सालमा महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि सुरु भएको आन्दोलनलाई तुमाज सालेहीले आफ्ना गीतमार्फत समर्थन गरेका थिए । सालेहीका वकिलले सजायविरुद्ध अपिल गर्ने बताएका छन् । यसबारे इरानी प्रशासनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

सालेही पहिलो पटक सन् २०२२ को अक्टोबरमा पक्राउ परेका थिए । त्यस बेला सालेहीले प्रदर्शनको समर्थनमा सार्वजनिक वक्तव्य दिएका थिए । उनीमाथि धेरै आरोप लागेका थिए । जुलाई २०२३ मा उनलाई छ वर्ष तीन महिनाको जेल सजाय सुनाइएको थियो ।

अदालतले सालेहीलाई भ्रष्टाचार, सरकारविरुद्ध कु प्रचार र दङ्गा भड्काउने लगायतका कैयौँ अभियोगमा दोषी ठहर गरेको छ । अब उनीसँग यस मृत्युदण्डको सजायविरुद्ध अपिल गर्न २० दिनको समय छ ।