images

निर्धक्कका साथ उपनिर्वाचनमा सहभागी हुन आयोगको अपिल

काठमाडौं। निर्वाचन आयोगले इलाम र बझाङमा आज हुन लागेको उपनिर्वाचनमा सहभागी हुन अपिल गरेको छ ।

आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क) मा प्रदेशसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा सहभागी हुन आयोगले अपिल गरेको हो । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ ।

आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

निर्वाचनलाई व्यवस्थित र पारदर्शी बनाउन अनुगमन निरीक्षणको काम प्रभावकारी रुपमा भइरहेको पनि आयोगले जनाएको छ ।

“निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन हुने ४८ घण्टा अगाडिबाट शुरु भएको प्रचारप्रसार निधेषको अवधिमा निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन २०८७३ र निर्वाचन आचारसंहिता २०७९ को पालनामा आयोगले विशेष सजगता अपनाएको छ”, आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, अनुगमन अधिकृत, मतदानमा खटिएका कर्मचारी एवम् सुरक्षाकर्मीबाटसमेत सुक्ष्म अनुगमनको कार्य भइरहेको छ ।”

मतदानका दिन निर्वाचनको स्वच्छता, निश्पक्षता र पारदर्शितामा असर नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताको सहज आवागमनका लागि सार्वजनिक सवारी सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत् सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन भईसकेको पनि आयोगले जनाएको छ ।

आयोगका अनुसार इलाम-२ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । इलाममा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

इलाम–२ मा दलगत रुपमा एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बरहादुर खड्का, रास्वपाका मिलन योङहाङ लिम्बु, राप्रपाका लक्ष्मी गुरुङ र जनमतका प्रेमकुमार थाम्सुहाङ, एकीकृत समाजवादीका जीबहादुर राई, नेमकिपाका श्यामबहादुर दर्जी, मंगोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बु, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर र राष्ट्रिय मुक्ति आन्दोलनका जयवन्त राना मगर उम्मेदवार छन्।

बझाङ १ (क) कूल ६१ हजार सात सय ४८ मतदाता छन् भने ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । बझाङको उपनिर्वाचनमा १२ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

बझाङमा सत्तारुढ दल नै एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। यहाँ ११ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ।

नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह, नेकपा एमालेका दमनबहादुर भण्डारी, नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंह र नेकपा माओवादी केन्द्रबाट जनकबहादुर बुढा मैदानमा छन्।

यस्तै राष्ट्रिय मातृभूमि पार्टीका तर्फबाट गजेन्द्रबहादुर थापा, नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, नेसनल रिपब्लिक नेपाल पार्टीबाट कमल घर्तीमगर, जनता समाजवादी पार्टी (जसपा) का रामबहादुर जाग्री, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट किशोरकुमार खड्का, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट दीपकबहादुर खड्का र जनमत पार्टीका सुशीला देवी विष्ट उम्मेदवार छन्।