images

उपनिर्वाचनः उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान जारी

काठमाडौं । उपनिर्वाचन भइरहेको इलाम र बझाङमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ ।

इलामको प्रतिनिधिसभा क्षेत्र-२ तथा बझाङको प्रदेशसभा एक (क) मा अहिले मतदान भइरहेको हो । इलामका सबै एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भैरहेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिएका छन्।

त्यहाँ प्रमुख दलका र मुख्य प्रतिस्पर्धी मानिएका उम्मेदवारले मतदान गरिसकेका छन् । एमालेका उम्मेदवार सुहाङ नेम्वाङले महेन्द्ररत्न बहुमुखी क्याम्पसको ‘ग’ केन्द्रबाट, नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले महेन्द्ररत्न बहुमुखी क्याम्पसकै ‘क’ केन्द्रबाट, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले माङसेबुङ–२ दहगाउँको जनता कल्याण आधारभुत विद्यालयको ‘ख’ केन्द्रबाट मतदान गरेका छन् ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुम गाउँपालिका–३ को सिंहदेबी मावि शुक्रबारे ‘क’ केन्द्रमा मतदान गरेका छन् । इलाम -२ बाट प्रतिनिधि सभामा निर्वाचित सुवासचन्द्र नेम्वाङको निधन भएकाले त्यहाँ आज उपनिर्वाचन भइरहेको हो ।

यस्तै बझाङ प्रदेशसभा एक ९क० मा पनि मतदाता उत्साहजनक रुपमा लामबद्ध भएर मतदान गरिरहेका छन् । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । बझाङ–१ (क) मा प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि आज उपनिर्वाचन भइरहेको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछ ।