images

सुहाङ भन्छन्ः जित्नेमा विश्वस्त छु

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभाको उपनिर्वाचनअन्तर्गत यतिबेला मतदान भइरहेको छ ।

उपनिर्वाचनअन्तर्गत इलाम–२ मा प्रतिस्पर्धामा रहेका प्रमुख दलका उम्मेदवारहरूले मतदान गरेका छन् ।

यता, महेन्द्र रत्न बहुमुखी क्याम्पस केन्द्रबाट मतदान गरेपश्चात नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।

घरदैलो कार्यक्रममा मतदाताहरुले देखाएको मायाले जित्नेमा विश्वस्त रहेको उनको भनाइ छ ।

निर्वाचनको परिस्थितिले भावुक बनाएको बताउँदै उनले निर्वाचनकै लागि आफू डेढ वर्ष पहिला पितासँग आएको पनि स्मरण गरे ।

इलाम-२ मा प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान जारी रहेछ ।

४२ वडा रहेको इलाम-२ मा एक लाख १६ हजार ८८९ मतदाता रहेका छन् । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ एवं तत्कालीन प्रतिनिधिसभा सदस्य एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त यस क्षेत्रमा आज उपनिर्वाचन भइरहेको हो ।