images

रास्वपा उम्मेदवार लिम्बूद्वारा आचारसंहिता उल्लंघन, आयोगले गरायो सचेत

काठमाडौं । आचारसंहिता उल्लंङ्घन गरेको भन्दै निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार मिलन लिम्बूलाई सजग गराएको छ।

उपनिर्वाचनमा लिम्बूले पार्टीको निर्वाचन अंकित लोगो पहिरिएर मतदान गरेको तस्बिर सार्वजनिक भएपछि आयोगले ध्यानाकर्षण गराएको हो।

इलामका मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले त्यस्तो क्रियाकलाप नगर्न भनेको जानकारी दिएका छन्।

लिम्बुले माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित जनता कल्याण आधारभूत विद्यालयमा रहेको मतदान स्थलमा पुगेर मतदान गरेका थिए।

आयोगको नियमावलिमा कुनै पनि उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिन्ह वा मत संकेत भएको पहिरन वा ब्याच लगाउन नपाइने उल्लेख छ।

तर, लिम्बूले उक्त कार्य गरेको थाहा पाएपछि निर्वाचन आयोगको केन्द्रीय कार्यालयबाटै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा खबर गरेको थियो।