images

वायुसेवा निगम अध्यक्ष अधिकारीको लापरबाहीले दुई वटै वाइडबडी ग्राउन्डेड हुँदै

काठमाडौं–नेपाल वायुसेवा निगममा अनियमितताको चाङ् लागेको छ । लामो समयदेखी घाटामा चलिरहेको निगम झन् बढी धराशायी हुने जोखिम बढ्दै गएको छ । निगमका अध्यक्ष युवराज अधिकारीको लापरबाहीका कारण दुई वटा जहाज ग्राउण्डेड हुने अवस्थामा पुगेका छन् ।उनकै इच्छा अनुसार नियम तोडेर उडान नै नभएको अस्ट्रेलियामा तीन जना कर्मचारीको सरुवा गरिएको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी सहित व्यवस्थापनको लापरबाहीका कारण जुन २५ देखि निगमको एउटा वाइडबडी र जुलाई २४ देखि अर्को जहाज ग्राउन्डेड हुने भएका छन् । निगमले अन्तर्राष्ट्रिय उडानमा प्रयोग गरिरहेको दुई वटै वाइड बडीको सम्पूर्ण जाँच हुने ’सी चेक’को तेस्रो पटकको समय आइसकेको छ। तर सी चेकका लागि कम्पनी छनोट भएको छैन । कम्पनी छनोटका लागि जेठ ४ गते तेस्रो पटक १५ दिनको समय दिएर सूचना प्रकाशन गरेको थियो ।

सबै प्रक्रिया पूरा गरेर कम्पनी छनोट गर्न कम्तीमा पनि दुई महिना लाग्छ । यी जहाज सी चेकका लागि जाने समय दुई वर्षअगाडि नै थाहा थियो तर निगम व्यवस्थापनले १८ महिनासम्म जहाजको सी चेकका लागि कम्पनी छनोट प्रक्रिया सुरु गरेन। कम्पनी छनोटका लागि पहिलो पटक भएको टेन्डर तथा दोस्रो पटक १५ दिनको थप समयमा प्रस्ताव पेस गरेका कम्पनी अयोग्य भएसँगै पुनः तेस्रो पटक टेन्डर सूचना प्रकाशन गरिएको हो । निगमको काम गराइ गतिलाई आधार मान्ने हो भने सी चेक हुन नपाएर जहाजहरू महिनौँ थन्किनेछन् । निगमले जहाज सी चेकका लागि भन्दै कम्पनी छनोट प्रक्रिया २०२४ को फेब्रुअरी १४ मा ४५ दिनको समय दिएर कम्पनी छनोटका लागि प्रस्ताव माग गरिएको थियो। उक्त समयमा एउटा मात्रै कम्पनीको आवेदन आएपछि फेरी मार्च ३० मा १५ दिनको समय थप गरिएको थियो। थप भएको समयमा समेत गरी दुई वटा कम्पनीले आवेदन दिएका थिए। जसमा स्ट्राटेजिक एभिएसन र एटिटेक एस.पी.ए.कम्पनीले प्रस्ताव पेस गरेका थिए। एटिटेक एसपीए नामको इटालियन कम्पनीलाई ठेक्का दिने सेटिङ अध्यक्ष अधिकारीले गरेका थिए। तर मूल्याङ्कन समितिले प्रस्ताव पेस गर्ने दुई वटै कम्पनी अयोग्य ठहर गरिदिएका थिए ।

जहाज समयमा नै सी चेक गर्न नसकेको अवस्थामा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सुरक्षा अवस्थाको विश्लेषणपछि केही समय थप गर्न सकिने व्यवस्था भए पनि त्यसका लागि अनुरोध गर्ने समय समेत गुमिसकेको छ । जसका कारण निगमका दुई वटै वाइडबडी ग्राउन्डेड हुने लगभग पक्का नै छ । एउटा वाइडबडी ग्राउन्डेड हुँदा निगमले दैनिक साडे १ करोड रुपैयाँभन्दा बढी आम्दानी गुमाउने छ ।
त्यस्तै वायुसेवा निगम आफ्नो २ करोड रुपैयाँ ह्याकरले चोर्दा समेत चुपचाप बसेको छ । निगमको लापरबाहीका कारण ह्याकरले दुई करोड रुपैयाँ लगेको ९ महिना नाघिसकेको छ तर रकम फिर्ता भएको छैन । अहिले सोही रकम खोज्नको नाममा कर्मचारीलाई दुबई घुम्न अवसर बनेको छ । केही समय अगाडि पनि दुई जना कर्मचारी यही विषयमा बुझ्नको लागि दुबई पुगेका थिए । तर अहिलेसम्म निगमले रकम फिर्ता ल्याउन सकेको छैन। ह्याकरले निगमको दुबई स्टेसनको इमेल आइडी ह्याक गरी क्याटरिङ कम्पनीको खाता नम्बर परिवर्तन भएको र नयाँ खाता नम्बरमा रकम हाल्न भन्दै रकम ठगी गरेको थियो । ह्याकरको खातामा दुबई स्टेसन प्रमुख अस्मिता सुवेदीले तीन पटकसम्म गरी दुई करोड रकम हालेकी थिइन । यस विषयमा अधिकारीले रकम आउने जवाफ सञ्चालक समितिमा दिए पनि त्यसको आधार भने प्रस्ट नपारेको बुझिएको छ ।

उनै अधिकारीले अर्को विवादास्पद निर्णय पनि गरेका छन् । अहिले अस्ट्रेलियामा नेपाल वायु सेवा निगमको कुनै पनि उडान छैन । उडान गर्ने कुनै तयारी र ग्रिन सिग्नल पनि आएको छैन । तर अधिकारीले ३ जना कर्मचारीलाई अस्ट्रेलिया सरुवा गरि दिईसकेका छन् । निगमको घाटा उकालो लागिरहेको अवस्थामा झन् बढी आर्थिक भार पर्ने गरी अधिकारीले यस्तो निर्णय लिएका हुन । विदेशमा काम गर्ने कर्मचारीलाई डलरमा तलब दिनुपर्ने हुन्छ । त्यस्तै उनीहरूको बसाइ लगायतका खर्च पनि निगमले नै बेहोर्नुपर्ने हुन्छ । तर कार्यविधि नै मिचेर उनले आफू निकट रहेका कर्मचारीलाई सरुवा गरेर अस्ट्रेलिया पठाएका हुन । त्यति मात्र होइन निगममा यस्तो लापरबाही पहिले पनि हुने गरेको थियो ।

चिनको ग्वान्जाउमा स्टेसन नखुल्दै सन २०१८ मा शैलेश कंसकारलाई ग्वान्जाउ सरुवा गरिएको थियो । उनी तत्कालीन महाप्रबन्धक सुगत रत्न कंसकारका भतिजा हुन। उनी आफ्नो कार्यकाल सकी तलब भत्ता खाई नेपाल फर्किसकेका छन् । तर आज ६ बर्स बित्यो आजसम्म ग्वान्जाउ उडान भएको छैन । यसरी गरिएको भ्रष्टाचारको अर्को रूप अहिले अस्ट्रेलियामा दोहोरिएको छ । यसमा त्यति बेला पनि अख्तियार र मन्त्रालय बोलेनन् । अहिले फेरी अस्ट्रेलियामा सोही लापरबाही दोहोरिँदा पनि चुपचाप छन् ।