images

कुलमानले बल्ल टेरे प्रधानमन्त्रीको निर्देशन, ६ वटै उद्योगमा लाइन जोड्ने निर्णय

काठमाडौं । चौतर्फी दबाबपछि नेपाल विद्युत् प्राधिकरणले ६ वटै उद्योगको लाइन जोड्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र विद्युत नियमन आयोगको निर्देशनपछि प्राधिकरणले लाइन जोड्ने निर्णय गरेको हो । प्राधिकरणको सोमबार बसेको संचालक समितिको बैठकले सर्तसहित ६ उद्योगको लाइन जोड्ने निर्णय गरेको हो । तीन महिनाभित्र बक्यौता बुझाउने सर्तमा लाइन जोड्ने निर्णय भएको  जनाइएको छ ।

विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङले पर्याप्त कानुनी आधारमै उद्योगीसँग बक्यौता मागेको र बक्यौता नतिरेपछि लाइन काट्न बाध्य भएको बताउँदै आइरहेका थिए । तर अहिले चौतर्फी दबाबपछि घिसिङ लाइन जोड्ने निर्णयमा पुगेका हुन् ।

बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले ६ उद्योगमा विद्युत् कटौती गरेको थियो । प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्सको ७३ करोड, घोराही सिमेन्टको ४० करोड ६८ लाख, अर्घाखाँची सिमेन्टको ३५ करोड ८८ लाख, जगदम्बा सिन्थेटिक्सको १६ करोड ४ लाख र हुलास स्टिलको ११ करोड २९ लाख र जगदम्बाले १ अर्ब २८ करोड १४ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।