images

पूर्व राज्यमन्त्री हत्या प्रकरणः जग्गा विवाद मिलाइदिन भन्दै राति घरमा आएका थिए ३ जना

काठमाडौं । सर्लाही जिल्लामा सयौं विगाहा जग्गा रहेको धनाढयहरुको सूचीमा पर्ने पूर्वराज्यमन्त्री रामचन्द्र रायको आइतबार राती आफ्नै निवासमा हत्या भयो । रायको सर्लाही जिल्ला चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित घरमै राती साढे १ बजेतिर धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीले घटनास्थल नजिकै बाँसको झ्याङबाट धारिलो हतियार समेत फेला पारेको छ । घटना पछि प्रहरीले रायको घरमा काम गर्ने राम उदेन रायलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

रायको घरमा काम गर्ने व्यक्ति राम उदेन रायले दिएको बयान अनुसार राय घटना हुनुपूर्व एक श्राद्ध कार्यक्रममा गएर घर आएका थिए । त्यसको झण्डै एक घण्टापछि ३ जना व्यक्तिको समूह रायको निवासमा आएको थियो । सामान्य कुराकानी पछि ३ जनाको समूह पनि त्यहीँ बास बसेका थिए । उनीहरुले त्यहीँ रात कटाउने भएपछि कामदार उदेनलाई अर्कै कोठामा सुत्न पठाइएको उनले बयानमा खुलाएका छन् । उनको बयान अनुसार सामान्य अवस्था कै बीच उनी सुत्न गएका थिए । तर राति साढे १ बजे शौचालय जाने बेलामा भने पूर्वराज्यमन्त्री राय सुतेको कोठाको ढोका खुल्लै देखेपछि टर्च बालेर हेर्दा रक्ताम्य अवस्थामा ढलेको देखेको राम उदेनले बयानमा भनेका छन् । मृत अवस्थामा पूर्वराज्यमन्त्री रायलाई देखेपछि आफूले तत्कालै आफन्त र प्रहरीलाई खबर गरेको उनले बताएका छन ।

के थियो विवाद ?
राति साढे ९ बजेतिर आएका तीन जनाले हाम्रो जग्गा विवाद कहिले मिलाइदिने भन्दै पूर्वराज्यमन्त्री रायलाई सोधेका थिए । जवाफमा ८० वर्षीय पूर्वराज्यमन्त्री रायले मिलाउँला नि भनेर जवाफ दिएको राम उदेनले बयान दिएका छन् । यो वार्ता अनुसार तीन व्यक्ति बीच वा तीन व्यक्ति र रायबीच जग्गा सम्बन्धी विवाद रहेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रहरीका अनुसार ३ व्यक्तिले रायसमक्ष कुनै जग्गा विवादका लागि भनसुन गरिदिन आग्रह गरेका थिए । हाल ती ३ व्यक्ति फरार छन् । उनीहरुलाई कामदर राम उदेन रायले देखे भने चिन्ने दावी गरेका छन् । प्रहरीले उनीहरुको हुलिया बताउन र त्यस अनुसार स्केच तयार गर्नका लागि पनि प्रयास गरिरहेको छ । तर राम उदेनले हुलिया बताउन नसक्ने बताएको प्रहरी स्रोतको दाबी छ । राय हत्या प्रकरणले पुनः शान्ती सुरक्षामा थ्रेट बढेको महशुस गराएको छ ।

राय २०५४ सालमा तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वको सरकारमा भूमिसुधार राज्यमन्त्री बनेका थिए । राप्रपाको गत महाधिवेशनमा उपाध्यक्ष पदका उम्मेदवार समेत रहेका रायको श्रीमती, २ जना छोरा र ५ जना छोरी रहेका छन् । उनका एक छोरा र श्रीमती काठमाडौं र एक छोरा अष्ट्रेलिया बस्दै आइरहेका छन् । जग्गाबारे भनसुन सम्बन्धी विषयबाट सुरु भएको विवादले हत्या जस्तो जघन्य रुप लिदाँ स्थानीयमा समेत सन्त्रास छाएको छ ।