images

पूर्वराज्यमन्त्री रायको हत्या उनकै घरमा काम गर्ने युवकले गरेको खुलासा 

काठमाडौं । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या उनकै घरमा काम गर्ने युवकबाट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

रायको हत्या उनकै घरमा काम गर्ने २१ वर्षीय युवक रामउजैन रायबाट भएको अहिलेसम्मको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । हत्या गर्दा ती युवकले लगाएका कपडाहरु समेत लुकाएको अवस्थामा बरामद गरिएको प्रहरीको भनाइ छ । यसअघि प्रहरीकै तालिम प्राप्त कुकुरको सहायतामा हत्यामा प्रयोग गरिएको घरेलु हतियार बरामद भएको थियो ।

यसअघि पूर्वराज्यमन्त्री रायको हत्या भएको राति साढे ९ बजेतिर रायको घरमा तीन जना मान्छे जग्गाको विवाद मिलाइदिन भन्दै आएको बयान राम उजैनले प्रहरी समक्ष दिएका थिए । त्यसपछि ती तीन जना व्यक्तिबाट हत्या भएको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान गर्दा तीन जना व्यक्ति नआएको र रामउजैनले नै हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

व्यक्तिगत रिसइबीका कारण हत्या भएको बताइए पनि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ मा खेती लगाउन गएका बेला आइतबार राति उनको हत्या भएको थियो ।