images

आरक्षण विरोधी आन्दोलनले खोस्यो हसिनाको कुर्सी

काठमाडौं । आरक्षणविरुद्ध सुरु भएको आन्दोलन चर्किँदै जाँदा अन्ततः बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले देशै छाडेर भागेकी छिन् । उनले राजीनामा दिएपछि सेनाले अन्तरिम सरकार बनाउने घोषणा गरेको छ । प्रर्दशनकारीहरुले भने प्रधानमन्त्री निवास प्रवेश गरेर तोडफोड गरेका छन् । हसिनाको राजीनामा पछि धेरै मानिसहरू विमानस्थलमा जान थालेपछि सेनाले राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टाका लागि बन्द गरेको छ ।
सरकारी जागिरमा आरक्षणको विरोधमा बङ्गलादेशमा सुरु भएको विद्यार्थी आन्दोलनले अन्ततः प्रधानमन्त्री शेख हसिनाको कुर्सी ढालेको छ । त्यति मात्रै होइन उनी देशै छाडेर भाग्न बाध्य भएकी छिन् । आन्दोलनका क्रममा ३ सय भन्दा बढीले ज्यान गुमाएपछि हसिना पदबाट राजीनामा दिएर भारतको शरणमा पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । २००९ देखि शासन गरिरहेकी ७६ वर्षीया हसिना राजीनामा घोषणा पनि रेकर्ड गर्न नपाई सेनाको हेलिकोप्टरमा चढेर भारततर्फ लागेकी हुन् । प्रदर्शनकारीले भने प्रधानमन्त्री निवास प्रवेश गरेर तोडफोड गरेका छन् ।
हसिनाले गत जनवरी ७ मा चौथो पटक लगातार चुनाव जितेर सत्तामा बलियो पकड बनाएकी थिइन् । तर, ७ महिना नबित्दै उनी निर्वासित हुनुपरेको छ । यससँगै बङ्गलादेशमा सबैभन्दा लामो समय सत्ता चलाएकी हसिना शासनको अन्त्य भएको छ । बङ्गलादेशको आर्थिक उन्नति गरेको भाष्यका बिच राज्यका संयन्त्रहरूमा उनको कब्जा कायम भएको थियो । उनी तानासाही बन्न थालेको आरोप लागेको थियो । सत्ता सम्हालेपछि हसिनाले भोगेको यो प्रदर्शनले उनलाई सत्ता च्युत ग¥यो । राजीनामाको माग चर्किरहँदा अटेर गरेकी हसिनाले आन्दोलनकारीलाई आतङ्कवादीको संज्ञा दिँदै दमन गर्न भनेपछि आन्दोलन थप चर्किएको थियो । आरक्षण खारेज गर्न माग गर्दै सुरु भएको आन्दोलन अन्ततः सरकार विरोधी बन्न पुग्यो ।
हसिना देश छाडेर भागेपछि रिक्तता र अशान्तिपूर्ण अवस्था नियन्त्रणमा लिने तयारीमा बङ्गलादेशको सेना लागेको छ । सेना प्रमुख जनरल वाकर उज जमानले देशवासीका नाममा सम्बोधन गरेर अन्तरिम सरकार गठन गर्ने घोषणा गरेका छन् । त्यसबारे  राजनीतिक दलहरूसँग छलफल गरेको उनको भनाइ छ । उनले विद्यार्थीलाई शान्त रहन आग्रह गर्दै विद्यार्थी हत्याको अनुसन्धान गर्ने प्रतिबद्धता पनि जनाएका छन् । उनले कस्तो खालको सरकार बन्छ भन्ने चाहिँ खुलाएनन् । बङ्गलादेशमा कुनै सङ्कटकाल घोषणा नगर्ने र शान्ति स्थापना गर्ने बताउँदै सेना प्रमुखले आफूहरूलाई केही समय दिन विद्यार्थीहरूलाई आग्रह गरेका छन् । उनले देशले निकै कष्ट भोगिसकेको, अर्थतन्त्र मारमा परेको र कयौँको ज्यान गइसकेकाले हिंसा अहिले नै रोक्नुपर्ने बताए । 
उसो त बङ्गलादेशको स्थापना भएदेखि त्यहाँ सेनाले पटक पटक ‘कु’ गरेको छ । तर, ९० को दशकदेखि त्यहाँको सत्ता एउटै राजनीतिक दलको हातमा रहेको थियो । ग्लोबल फायर पावरका अनुसार पावर इन्डेक्स स्कोरमा बङ्गलादेशी सेना १४५ देशमध्ये ३७ औँ स्थानमा छ । त्यहाँको  सेनामा लगभग १ लाख ७५ हजार जना सक्रिय सैनिक छन् ।  सेनासँग २८१ वटा ट्याङ्क, १३ हजार १०० बख्तर बन्द वाहन, ३० थान स्वचालित तोप खाना, ३७० थान टो आर्टिलरी, ७० थान रकेट आर्टिलरी छ । जल सेनामा ३० हजार जना सदस्य छन् । दक्षिण एसियामा भारत र पाकिस्तानपछि तेस्रो ठुलो रक्षा बजेट हुने देश बङ्गलादेश हो । यसले बर्सेनि रक्षा क्षेत्रमा ३ अर्ब ८० करोड डलर खर्च गर्ने गरेको छ । बङ्गलादेशमा सन् १९७५ मा पहिलो पटक सैन्य ‘कु’ गरेर मुजिब सरकार ढालिएको थियो । त्यसपछि सन् १९९० सम्म १५ वर्षसम्म सरकार सेनाको नियन्त्रणमा रहेको थियो ।