images
images

भ्रष्टाचार नगर्ने र कुनै शक्तिसँग नझुक्ने प्राधानमन्त्री ओलीको वाचा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पती हिनामिना नगर्ने वाचा गरेका छन् ।

लायन्स क्लवले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको र अब पनि नगर्ने प्रतिवद्धता जनाएका हुन् । देशलाई सुशासन, तिब्र विकाससहित समृद्धि दिनका लागि आफू सदैव लागि परेको उनको दाबी छ । प्रधानमन्त्री ओलीले राज्यबाट आफूले कुनैपनि कुरा लिन नचाहेको पनि बताए ।

‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ । म राष्ट्रको सम्पत्ति जालझेल गरेर आफ्नो नाममा कुनै पनि हालतमा ल्याउँदिनँ ।’ प्रधानमन्त्री ओलीको अठोट थियो ।

प्रधानमन्त्री ओलीले समाजलाई सुव्यवस्थित गर्ने काम राजनीति र राजनीतिक दलको भएको उल्लेख गर्दै आफूलाई अग्लो देखाउन अरूलाई होचो भन्ने वा असत्य कुराहरुलाई आधार मानेर गाली गलौज र बदनाम गर्नेहरूको प्रवृत्ति सही नहुने बताए ।​ उनले देशलाई गरिबीबाट मुक्त पार्न नसकिए समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा नहुने पनि बताए ।

‘मुलुकमा अझै पनि २० प्रतिशत नागरिक गरिबीको रेखा मुनी छन्। भोका बालबालिका र मानिसलाई खान लाउने वातावरण दिन सकिएन भने हामीले समृद्ध नेपालको परिकल्पना गर्नुको सार्थकता रहँदैन।’, प्रधानमन्त्री ओलीले भने, ‘हालै संयुक्त राष्ट्रसंघका प्रतिनिधिसँगको भेटमा मैले यो कुरा गरेको थिएँ। आउँदो असोजको पहिलो साता राष्ट्रसङ्घको महासभामा पनि म यिनै विषयलाई महत्व दिएर बोल्नेछु । मानव जगतको सुरक्षा, शान्ति र समृद्धि हाम्रो साझा चिन्ता हो । मानव जगत नै सुरक्षित हुन सकेन भने पृथ्वीको सुरक्षामै खतरा पर्न सक्छ । अशान्ति मच्चिन सक्छ । त्यसैले मानवअधिकारको रक्षा पहिलो दायित्व हो भन्ने भावनाले सबैले काम गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले लायन्सले मानवीय सेवाको क्षेत्रमा गर्दै आएको कामको खुलेर प्रशंशा पनि गरे । लायन्सले इमान्दार भएर मानवीय सेवाको क्षेत्रमा काम गरेको उनको भनाइ छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS