काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान सरकार धेरै दिन नटिक्ने बताएका छन् ।
पार्टी सम्बद्ध काठमाडौं–रोशी गाउँपालिका काभ्रे सम्पर्क समितिको पालिका भेलालाई शनिवार राजधानीमा सम्बोधन गर्दै उपमहासचिव पुनले कांग्रेस-एमाले गठबन्धन सरकार लामो समय नचल्ने बताएका हुन् ।
उनले सरकारमा भएर पनि कांग्रेस-एमालेपंक्तिको मनोबल खस्किएको भन्दै दुवै दलका नेताले आफूहरूसँगको अनौपचारिक कुराकानीमा सरकार हनिमुन अवधि (एक सय दिन) कटाउन मुस्किल रहेको बताउन थालेको बताए ।
आफूहरूको प्राथमिकतामा सरकार नरहेको, तर चाहेको अवस्थामा यो सरकार ढाल्न कुनै समस्या नभएको भन्दै उपमहासचिव पुनले भने, ‘कांग्रेस–एमालेकै नेताहरूले हामीलाई सरकारले हनिमुन पिरियड कटाउँछ कि कटाउँदैन भन्न थालेका छन् । संसद्मा र बाहिर पनि एमाले–कांग्रेस दुवै हामीसँग नरम व्यवहार गरिरहेका छन् । किन भने संसद्को अङ्कगणितका कारण कुनै पनि वेला माओवादी हामीलाई चाहिन्छ भन्ने उनीहरूले बुझेका छन् ।’
उपमहासचिव पुनले नयाँ सरकार बनेपछि कांग्रेस–एमालेमा आन्तरिक किचलो बढेकोसमेत जिकिर गरे । कांगेसका दुवै महामन्त्रीले एमालेसँग गठबन्धन गर्नुको अर्थ उसका कमजोरीको भारी बोक्ने होइन भन्दै गिरीबन्धु टी स्टेट प्रकरणको छानबिन हुनुपर्ने अडान लिनुले ओली सरकारको जग हल्लिन थालेको पनि पुनले बताए ।
भ्रष्टाचार, तस्करी, अनियमितता, राज्य दोहनका विरुद्ध र सुशासनका पक्षमा उभिएका कारण माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढालिएको उपमहासचिव पुनले बताए ।