images

कुलमानविरुद्ध परेको भ्रष्टाचारको उजुरीमा के छ ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । घिसिङले राज्यलाई करोडौं रुपैयाँ घाटा हुने काम गरेको भन्दै नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले घिसिङविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् । घिसिङले ६६ वटा कम्पनीसँग पीपीए गर्दा कानुन मिचेको देखि नक्कली नाफा देखाएकोसम्मका विषय उजुरीमा समेटिएको छ ।

नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले घिसिङविरुद्ध मंगलबार अख्तियारमा उजुरी दिएका हुन् । उजुरी दिएपछि एन्टिकरप्सन नेटवर्कमा समेत आवद्ध रहेका खरेलले आफूसँग घिसिङले भ्रष्टाचार गरेको प्रमाण रहेको बताए । उजुरीमा घिसिङले कानुनविपरित काम गरेर राज्यलाई करोडौं रुपैयाँ हानी पु¥याएको दाबी गरिएको छ । खरेलका अनुसार घिसिङले एउटा मात्रै नभएर अनेक ठाउँमा घोटला गरेका छन् ।

१. पीपीएमा घोटालाः
कुलमान घिसिङले ६६ वटा कम्पनीसँग कानुन विपरित पीपीए गर्दा नेपाल सरकारको खातामा आउने १ करोड १७ लाख २६ हजार ५२० रुपैयाँ राजस्व गुमेको उजुरीमा उल्लेख छ । उजुरीमा विद्युत नियमन आयोगको स्वीकृतिविना घिसिङले २०७५ र २०७६ सालको विभिन्न मितिमा विभिन्न उर्जा उत्पादक कम्पनीहरुसँग पीपीए गर्दा राजश्व गुमेको उल्लेख छ ।

२. प्राधिकरण नक्कली नाफामाः
डेडिकेटेड र ट्रंक लाइनको विवादमा सरकारले गठन गरेको आयोगले तयार पारेको प्रतिवेदनको केही अंश अनुसार घिसिङले तयार गरेको बिललाई फेरि हिसाब गरेर यकिन गर्न भनिएको छ । आयोगको प्रतिवेदन अनुसार छुट महसुलको लागि जुन बिल प्राधिकरणले पठाएको थियो त्यो बिलमा उल्लेख गरिएको रकम नै झुटो भएको देखिएको छ । आयोगले नियमित महसुल बुझाउन बाँकी नरहेको भन्दै अतरिक्त महसुलमा विवाद भएको उल्लेख गरेको छ । विवादमा रहेका अर्थात बक्यौता भनिएका सबै बिलहरू लोडसेडिङका अवस्थामा आपूर्ति गर्ने भनिएका डेडिकेटेड लाइन र ट्रंक लाइन सम्बन्धी मात्र भएको प्रतिवेदनमा उल्लेख छ ।

३. कुलमान जोगाउन किर्ते निर्णय:
उजुरीमा घिसिङलाई जोगाउन ट्रंकलाइन र डेडिकेटेड विवादमा मन्त्रिपरिषदको निर्णय नै किर्ते गरेको उल्लेख छ । लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषदको वैशाख २७ गतेको निर्णय नै किर्ते गरिएको उजुरीमा उल्लेख छ । लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न ऊर्जा जलस्रोत तथा सिचाईं मन्त्रालयमा पठाएको मन्त्रिपरिषदको निर्णय घिसिङ अप्ठेरोमा पर्ने भएपछि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालकै निर्देशनमा अर्को पत्र पठाएको दाबी गरिएको छ ।

४. कुलमानको लापरबाहीले दैनिक करोडौं नोक्सान:
निर्माण सम्पन्न भएका सान्जेन जलविद्युत आयोजना र रसुवागढी जलविद्युत आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोड्न आनाकानी गरेको पनि उजुरीमा उल्लेख छ । यी दुई आयोजनाबाट उत्पादिन ६१ करोड ६८ लाख युनिट उर्जाबाट ३ अर्ब २५ करोड आम्दानी हुन्थ्यो । तर, प्रशारण लाइन बनाउन प्राधिकरणले बेवास्ता गरेको उजुरीमा उल्लेख छ । घिसिङले आफूले चाहेको ठेकेदारलाई ठेक्का दिदा यस्तो अवस्था आएको बताइएको छ ।

५. कुलमानमाथि किन छानबिन हुँदैन ?
घिसिङ प्रबन्ध निर्देशकमा नियुक्त भएको एक वर्षपछि २०७४ साउन ५ गते उनले आफ्ना चार जना भाईहरुको नाममा ३ करोड पुँजी भएको तेन्डेल हार्डवेयर प्रालि दर्ता गरिदिएका थिए । उक्त कम्पनीमा आफ्न चार दाजुभाइहरु गणेश घिसिङ, अनिल घिसिङ, सानुकान्छा घिसिङ र सुरेश घिसिङको नाममा प्रतिव्यक्ती ७५ हजार सेयर कित्ता हुने गरी कम्पनी खोलेको पाइएको छ । रामेछापको सामान्य परिवारमा जन्मिएका उनका दाजुभाइहरुले करोडौँको कम्पनी खोल्ने हैसियत कसरी बनाए ? भनेर प्रश्न गरिएको छ । घिसिङले दाजुभाईमार्फत कमिशनको व्यवस्थापन गर्ने गरेको पनि उजुरीमा उल्लेख छ ।

६. लाभकर छल्न ५५ करोडको शेयर ९ करोडमा खरिद:
घिसिङले दाजुभाइका लागि करोडौं लगानीको तेन्डल हार्डवेयर खोलिदिएका घिसिङले दाई गणेश घिसिङका छोराको नाममा आधा अर्ब बढी खर्चिएर लामा कन्स्ट्रक्सनको सेयर नै खरिद गरिदिएको उजुरीमा उल्लखे छ ।

७. महालेखाको प्रश्न:
घिसिङले सार्वजनिक खरिद ऐनलाई नै लत्याउँदै सबैभन्दा कम रकममा टेण्डर हाल्ने कम्पनीलाई ठेक्का नदिएर त्यो भन्दा धेरै बिड गर्ने कम्पनीलाई ठेक्का दिएको पनि पाइएको छ । महालेखाको सन्ताउन्नौँ प्रतिवेदनमा ९ विद्युतीय उपकरण खरिद, ट्रान्समिसन लाइन प्रतिवेदनले प्राधिकरणको आर्थिक प्रशासन विनियमावली २०६८ को बिनियम ७२ मा खरिद सम्झौतता कार्यन्व्यन सम्बन्धी रहेको ब्यवस्थालाई प्राधिकरणले पालना नगरेको उल्लेख गरेको छ ।

८. ठेक्कामा अर्को घोटाला:
२०८० वैशाख ७ गते नेपाल विद्युत प्राधिकरणले २ अर्ब ३९ करोड रुपैयाँ लागत अनुमानमा बैतडी, बझाङ, रुकुम पूर्व र रोल्पा गरी ४ जिल्लामा विद्युतीकरणका टेण्डर गर्दा पनि घोटला भएको उजुरीमा उल्लेख छ ।

कुलमानको कर्तुतबारे आफूहरुले लामो अनुसन्धान गरेको र उनीविरुद्धका सम्पूर्ण प्रमाण रहेको एन्टिकरप्सन नेटवर्कका निर्देशक बाबुराम भुसालले बताए ।

कुलमानकै लापरबाहीले हजारौं परिवार बिजुली उपयोग गर्नबाट बन्चित बनेको उजुरीकर्ताको दाबी छ । कुलमानले गरेको अनियमितताबाट नेपाल विद्युत प्राधिकरण र राज्यलाई अर्बौं हानी भएकाले छानबिन गरी कानुनी दायरामा ल्याउन माग गरिएको छ ।