images

संविधानमा नमिलेको पक्ष संशोधनमार्फत सुधार्नु पर्छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउने बाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताएका छन् ।

बिहीबार सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस मूल समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले काम गरेर देखाउने र गरेकै कामले आशा भर्ने बाहेक वर्तमान सरकारको अर्को एजेन्डा नरहेको स्पष्ट पारेका छन् । संविधानलाई समयानुकूल बनाउनुपर्ने उल्लेख गर्दै विद्यमान संविधानका नमिल्दा पक्षमाथि संशोधन गरिने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले युवा–पुस्ताकै बलमा मुलुक रूपान्तरण गर्न सकिने पनि जिकिर गरेका छन् । उनले नेपालीले अराजक, अशिष्ट र अमर्यादितहरूको क्रिडास्थल समाज नचाहेको दाबी गरे । पाका उमेरकाले तन्नेरीलाई स्नेह गर्ने, युवा वयस्कले ज्येष्ठ नागरिकहरूको सम्मान गर्ने नमुना समाज देशले चाहेको प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले वर्तमान शासन व्यवस्थालाई बलियो बनाउनु र यसको पक्षमा उभिनु सबैको कर्तव्य र दायित्व भएको उल्लेख गरेका छन् ।