images

सरकार परिवर्तनको भ्रममा नपर्नुस्ः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार २०८४ सालको निर्वाचनसम्म कायमै रहने बताएका छन् ।

दशैंपछि सरकार तत्काल परिवर्तन हुन्छ भन्ने भ्रम फैल्याइएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता खालको भ्रममा नपर्न पनि सबैलाई आग्रह गरेका हुन् । २०८४ सालको दशैँपछि सरकार परिवर्तन हुने उनको जिकिर थियो ।

६९ औँ प्रहरी दिवसको अवसर पारेर बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले २ वर्षे आफ्नो कार्यकाल पूरा हुने बित्तिकै काँग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने पनि दोहोर्‍याएका छन् ।

उनले देउवाले चुनावी सरकारको नेतृत्व गर्ने र चुनाव सम्पन्न भएपछि नयाँ सरकार बन्ने तर त्यसअघि काँग्रेस–एमाले गठन सरकार कायमै रहने दाबी समेत गरे । काँग्रेस–एमाले नेतृत्वको वर्तमान सरकार करिब दुई तिहाइको सरकार भएको भन्दै प्रधानमन्त्री ओलीले त्यसलाई खरानीको डल्लो नसम्झन पनि चेतावनी दिएका छन् ।

उनले भने, ‘विभिन्न प्रकारका कुनाकाप्चाबाट पनि आवाजहरू आउने गरेका छन् । म स्पष्ट भन्न चाहन्छु–अहिलेको संविधान जनतामा सार्वभौमसत्ता रहेको, जनता शक्तिको स्रोत भएको संविधान र संविधानले निर्दिष्ट गरेको अहिलेको प्रणाली यसको रक्षा गर्दै अघि बढ्नुपर्दछ । धेरै कुरामा कम्परमाइज हुन सक्दछ । तर प्रणालीको कुरामा कम्परमाइज हुन सक्दैन । लोकतन्त्रको कुरामा कम्परमाइज हुन सक्दैन । लोकतन्त्र लोकतन्त्र हो । लोकतान्त्रिक प्रणालीमार्फत जुनसुकै परिवर्तन पनि ल्याउन सकिन्छ । चुनाव गरौँ, चुनावमा जाऔँ, एउटा सरकार मन परेन भने जनताले अर्को सरकार गठन गर्न पाउँछन् चुनावका माध्यमबाट । तर अलोकतान्त्रिक विधि, अलोकतान्त्रिक बाटोबाट परिवर्तनका कुरा भनेको अराजनीतिक कुरा हो । अलोकतान्त्रिक कुरा हो । यो सभ्य समाज र संस्कृतिभित्र पर्ने कुरा होइन । यति म भन्न चाहन्छु । र म सबैलाई आश्वस्त रहनु पनि आग्रह गर्न चाहन्छु कि कुनै पनि प्रकारका भ्रमहरूमा नपर्न म आग्रह गर्न चाहन्छु । अहिले दिनैपिच्छे सरकार परिवर्तन हुन्छ भन्ने कुरा पनि सुनिन्छ । दशैंपछि तुरुन्त परिवर्तन हुन्छ रे । कुन दशैँपछि रु २०८४ सालको दशैँपछिको चुनावमा रु त्यसभन्दा पहिला मैले पहिले नै भनिसकेको छु–मैले एक वर्ष नौ महिना जति रह्यो होला । त्यसपछि शेरबहादुरजीलाई हस्तान्तरण गर्छु भनेर मैले पहिला नै भनिसकेको छु । त्यसपछि आफै फेरिन्छ यो सरकार । त्यसपछि शेरबहादुरजीले नेतृत्व गर्नुहुन्छ । र, चुनाव उहाँको नेतृत्वमा हुन्छ २०८४ सालमा । त्यसपछि चुनावबाट जो आउँछ, उसले सरकार बनाउँछ । यस कुरामा सबैलाई ढुक्क रहन म आग्रह गर्न चाहन्छु । नेपालको राजनीति, नेपालको समाज, नेपालको अर्थतन्त्र, नेपालको विकासमा सबैभन्दा ठुलो योगदान गरेका नेपाली काँग्रेस र एमालेजस्तो पार्टीहरू मिलेर अहिले सरकार बनाएका छन् । र सरकार लगभग दुई तिहाइको छ भन्ने कुरा सबैमा हेक्का रहोस् । यो खरानीको डल्लो होइन । नेकपा एमाले र नेपाली काँग्रेस जसको इतिहास, यो देशको विकास गर्ने कुरामा छ, परिवर्तन गर्ने कुरामा छ । त्यस्ता पार्टीहरूको सरकार हो यो । म यति कुरा राख्न चाहन्छु ।’

प्रधानमन्त्री ओलीले वर्तमान शासन प्रणालीको विकल्प सोच्न पनि नसकिने पनि बताएका छन् ।