काठमाडौं । रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेलाई पक्राउका लागि जिल्ला अदालत कास्कीबाट अनुमति पाएको हो ।
पोखरास्थित सूर्यदर्शन सहकारीको रकम लामिछाने प्रबन्ध निर्देशक रहेका बेला गोरखा मिडियामा अवैध रूपमा लगानी भएको सहकारी छानबिन संसदीय समितिले ठहर गरेको थियो । साथै संसदीय समितिले गोरखा मिडियामा रकम हिनामिनामा लामिछानेको संलग्नता रहेको भन्दै कारबाही गर्न सिफारिस गरेको थियो ।
यही प्रकरणमा गोरखा मिडियाका तत्कालीन सञ्चालनक छाविलाल जोशी र कुमार रम्तेल पक्राउ परेका छन् भने जीबी राई फरार छन् ।
प्रहरीले पक्राउ अनुमति पाएसँगै लामिछाने पक्राउ पर्ने सम्भावना बढेको छ । उनी पक्राउ पर्ने सूचना पाएपछि शुक्रबारै विपक्षी दलहरूको बैठकसमेत बसेको थियो । जसले लामिछानेलाई पक्राउ गरे प्रतिकार गर्ने उद्घोषसमेत गरेको थियो ।