images
images

प्रचण्डलाई ओलीको जवाफः ‘हतियार कसरी बिसाउन लगाउने हामीलाई थाहा छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई नधम्क्याउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् ।

आइतबार काठमाडौंमा गैर आवासीय नेपाली सङ्घको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले प्रचण्डलाई नागरिकलाई धम्क्याएर पुनः सत्ता प्राप्ति गर्छु भन्ने नठान्न चेतावनी दिएका हुन् । अध्यक्ष दाहाललक्षित टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले शनिवार काठमाडौंमा माओवादी केन्द्रले गरेको खबरदारी सभामा दाहालले आफूहरूले हतियार चलाउन नबिर्सिएको र बिसाएको मात्रै भन्ने शब्दहरू प्रयोग गर्दै भाषण गरेको भन्दै हतियार कसरी बिसाउन लगाउने भन्ने कुराको राम्रो ज्ञान आफूलाई रहेको जवाफ फर्काए ।

उनले भने, ‘हिजो एक जन उफ्रिउफ्रीकन भाषण गर्दै थिए । हिजो मात्रै हो । हतियार बिसाएको मात्रै हो । भ्रम नरहोस् । चलाउन बिर्सिएको छैन । त्यस्तै त्यस्तै त हामी हुनु भएन नि । धम्क्याएका भरमा खाने, म त्यसलाई फेरि हतियार कसरी बिसाउन लगाउनुपर्छ तरिका थाहा छ पनि नभनौँ । हामी चलाउन त चलाउँदैनौँ तर बिसाउन लगाउन जानेको छ हामीले । कसरी बिसाउने भनेर ।’

प्रधानमन्त्री ओलीले एनआरएनएमा कुनै राजनीतिक दल र सरकारको हस्तक्षेप नहुने बताएका छन् । उनले आफू एमालेको प्रधानमन्त्री नभई देशको प्रधानमन्त्री भएकाले प्रधानमन्त्रीको रूपमा कसैप्रति पनि भेदभाव नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘पोल्टिकल पार्टीहरूका आफ्नै सङ्गठनहरू होलान्, त्यसले आफ्ना काम आफैँ गर्लान्, यस सङ्गठनभित्र राजनीतिक वार नगरौँ । सरकारको तर्फबाट तपाईंहरुलाई कुनै हस्तक्षेप हुनेछैन । तपाईंहरु स्वतन्त्र भएर काम गर्नुस् । म देशको प्रधानमन्त्री हो, एमालेको प्रधानमन्त्री होइन । मैले कसैप्रति भेदभाव गर्न मिल्दैन, गर्दिन, प्रधानमन्त्रीको हैसियतले । मान्छेका त आफ्ना आफ्ना हैसियत हुन्छन् नि । हामी कुनै हस्तक्षेप गर्दैनौँ । सकेको सहयोग पुर्‍याउँछौ। तपाईँहरू एकताबद्ध भएर चल्नका लागि के गर्नुपर्छ, गर्नुस् ।’ उनले थपे ।

प्रधानमन्त्री ओलीले सबै एनआरएनएहरू एकताबद्ध भएर देश विकासमा लाग्न आग्रह समेत आग्रह गरेका छन् ।