काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
सहकारी ठगी र सङ्गठित अपराध कसूरमा पक्राउ परेका लामिछानेलाई चौथो पटक म्याद थप्न आइतबार प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको थियो ।
तेस्रोपटक कात्तिक २० गते अदालत उपस्थित गराई तिहार बिदासमेत गणना गरी थपिएको १० दिनको म्याद पनि कात्तिक २४ गते शनिबार सकिएकाले चौथोपटक हिरासत लम्ब्याउन रविलाई अदालत उपस्थित गराइएको हो ।
पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा यही कात्तिक २ गते काठमाडौँमा पक्राउ गरी पोखरा पु¥याएका रविविरुद्ध हाल सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग छ । न्यायाधीश नवराज दाहालले लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएका छन् ।
लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, उस्तै कसूरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई १३ दिन हिरासतमा राख्न म्याद थप भएको छ ।
यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने आम नागरिक र राष्ट्रिय हितका शक्तिहरूको सहकार्यमा दोस्रो चरणको सशक्त आन्दोलन गर्ने तयारी थालेको छ । शनिबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रिय राजनीतिका मूल मुद्दाहरूमा केन्द्रित रहेर आम नागरिक र राष्ट्रिय शक्तिहरूको सहकार्यमा दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको हो । सत्तारुढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र भएको निष्कर्ष रास्वपाको छ ।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो । पुनः दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो । पुनः तेस्रो पटक १० दिनको म्याद थप गरेको थियो ।