images

पूर्वमन्त्री लिलावल्लभमाथि सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका कोशी प्रदेश सांसद लिलावल्लभ अधिकारीलाई अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ ।

आइतबार विराटनगरमा निजी निवासबाट पक्राउ गरी थप अनुसन्धानका लागि उनलाई काठमाडौं ल्याइएको हो ।

मानव तस्करी प्रकरणमा मुछिएको आरोपमा उहाँलाई प्रहरीले बरगाछीस्थित निवासबाट पक्राउ गरेको थियो । कोशी प्रदेशका तत्कालिन आन्तरिक मामिलामन्त्री अधिकारीलाई मानव तस्करीको आरोप लागेको छ । मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई उनी जापान गएका थिए । उनीसँगै अन्य ३ जना व्यक्ति पनि जापान गएका थिए । तर जापानको अध्यागमनले उनलाई विमानस्थलबाट फर्काइदिएको थियो ।

मानव तस्करको योजना अनुसार मन्त्री जापान पुगेको भन्दै विरोध भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । उनलाई शनिबार एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो । शनिबारको सचिवालय बैठकले प्रदेश कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको थियो । उनीसँगै जापान गएकाहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । अधिकारीले भने आफूलाई फसाइएको दाबी गरेका छन् । उनले अनुसन्धानमा सघाउने बताएका छन् ।

यसैबीच, अधिकारीलाई २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । उनीमाथि सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्नुपर्ने भन्दै प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । अदालतले उनलाई २ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले जानकारी दिए ।