काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो चीन भ्रमण नै गलपासो बन्ने देखिएको छ । बीआरआई परियोजना ऋणमा नस्वीकार्ने कांग्रेसको अडानले ओलीलाई धर्मसंकट परेको छ । ऋणका रुपमा बीआरआई स्वीकार्न नसकिने बताइरहेका ओलीप्रति चिनियाँ राजदूतले समेत चासो देखाएका छन् । बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) चीनको महत्वकांक्षी परियोजना हो ।
यो परियोजनामार्फत् चीनले विश्वका विभिन्न देशमा आफ्नो उपस्थिति चाहेको देखिन्छ । चिनियाँ राष्ट्रपति सी जीङ पीङ शक्तिमा आएपछि सन् २०१३ मा सीकै परिकल्पनाअनुसार चीन सरकारले १ सय ५० भन्दा बढी देशहरुमा लगानी गर्न अपनाएको विश्वव्यापी पूर्वाधार विकास रणनीति बीआरआई हो । जसलाई उसले नयाँ सिल्क रोड भनेर अथ्र्याएको देखिन्छ ।
चीनले यस परियोजनामार्फत् दक्षिण पूर्वी एसिया, दक्षिण एसिया, मध्य एसियाका साथै रुस र युरोपलाई पनि जमिनबाट जोड्ने लक्ष्य लिएको छ । १५० भन्दा बढी देशका नागरिक बीच नीति समन्वय, पूर्वाधारको जडान, निर्वाध व्यापार, वित्तीय एकीकरण र जनता–जनताबीचको घनिष्ठ सम्बन्ध कायम गर्ने चीनको दाबी रहँदै आएको छ । चीनले बीआरआई अन्तर्गत बन्दरगाह, पावर प्लान्ट, रेलमार्ग, सडक, पुल र सूचना प्रविधिमा काम गर्ने बताएको छ ।
नेपालले सन २०१७ मा हस्ताक्षर गरेको बीआरआई सम्झौता अहिलेसम्म अन्योलमा परेको छ । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको पूर्वसन्ध्यामा यसको चर्चा शुरु भएको छ । अहिले कांग्रेस र एमालेको गठबन्धनमा सत्ता सहकार्य चलिरहेको छ । नेपाली राजनीतिको लामो इतिहासदेखि प्रतिस्पर्धी रहेका दलहरुको गठजोडले बीआरआई कार्यान्वयनमा पनि प्रतिस्पर्धा गरिरहेका छन् । एमसीसी सहजै पारित गरेको कांग्रेसले बीआरआई कार्यान्वयनमा अंकुश लगाएको छ ।
उसले ऋणमा सम्झौता गर्न नसकिने बताउँदै आएको छ । प्रधानमन्त्री भएपछि पहिलो निम्तो चीनबाट पाएका ओलीलाई बीआरआई चुनौति देखिने भएको छ । कांग्रेसको अडानबाट टसमस हुँदा सत्ता गुम्ने डर, बीआरआई कार्यान्वयनमा नल्याउँदा चीन सम्बन्धमा आउनसक्ने मतभेदबाट ओली त्रसित छन् । यद्यपि ओलीले बीआरआईलाई ऋणका रुपमा स्वीकार्न नसकिने सार्वजनिक रुपमै बोल्दै आएका छन् । जसका कारण नेपालका लागि चिनियाँ राजदूत छन् सङले परराष्ट्रमन्त्री आरजु राणा देउवासँगको भेटमा असन्तुष्टि जनाएको विषय बाहिरिएको छ । यसका सरकारले आफ्नो कुटिल चाल कसरी चल्छ हेर्न बाँकी छ ।००