images

बैतडीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, चार घाइते

काठमाडौं । बैतडीमा आज बिहान भएको जिप दुर्घटना परि गम्भीर घाइते भएका दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको सिगास गाउँपालिका १ का १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामी छन्।
उनीहरू दुवैजनाको उपचारको क्रममा डडेलधुरा अस्पतालमा मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक  बलराम पाण्डेयले जानकारी दिए।
शनिबार बिहान ६ बजे  जिल्लाको सिगास गाउँपालिका १ माडौँमा सु प्र ०१००१ च ४०२८ नम्बरको जिप दुर्घटनामा परेको थियो। सो दुर्घटनामा परेर अन्य ४ जना घाइते भएका छन्।
सिगास–१  इराना घर भएका  ४० वर्षीया तुलसी धामी, १६ वर्षीया निरा धामी,  १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी घाइते भएका छन्। घाइतेहरू सबैको  डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटना गराउने चालक जयन्त बोहरा फरार छन्।
दुर्घटनाग्रस्त  जिप सडकबाट करिब ७ सय मिटर तल खसेको  छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।