images

सरकार ८४ को चुनावपछि मात्रै ढल्ने प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ०८४ को मंसिरमा सरकार परिवर्तन हुने दाबी गरेका छन् ।

मंगलवार संसद भवनस्थित ल्होत्से हलमा पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले दिनदिनै सरकार ढल्छ भन्ने गरेको भन्दै सरकार ढाल्ने म्याद सार्ने काम भइरहेको पनि बताएका छन् । राष्ट्रिय राजनीति सही दिशामा अगाडि बढिरहेको प्रधानमन्त्री ओलीले बताएका छन् ।

उनले अहिले देशको राष्ट्रिय राजनीति संविधान र डेमोक्रेटिक प्रणालीअन्तर्गत शान्तिपूर्ण रुपमा अगाडि बढिरहेको बताएका छन् । उनले नेपाल श्रीलंका, बंगलादेश नबन्ने भन्दै संवैधानिक प्रक्रिया बाहेकका गतिविधि स्वीकार्य नरहेको उल्लेख गरेका हुन् ।

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीमा लोकतान्त्रिक गतिविधि बाहेक अरु प्रकारका गतिविधि वा अराजकताका कुनै प्रकारका बाटोबाट परिवर्तनको अपेक्षा सम्भव नरहेको पनि जिकिर गरेका छन् ।