images

निलम्बन फुकुवा गर्न सभामुखसमक्ष रविको माग, अध्ययन गरेर खबर गर्ने सभामुखको जवाफ

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद पदबाट गरिएको निलम्बन फुकुवाका लागि सभामुख देवराज घिमिरेसमक्ष माग गरेका छन् । सभामुख घिमिरेसँग भेट्न शुक्रबार उनकै कार्यकक्षमा पुगेका उनले निलम्बन फुकुवाका लागि निवेदन दिएका हुन् ।

उनले कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतले धरौटीमा रिहा गरेको र फौजदारी कसुरमा दोषी ठहर नभइसकेको भन्दै सांसद पदबाट निलम्बन गर्न नहुने तर्क गरेका छन् । आजकै बैठकबाट निलम्बन फुकुवा गरिदिन उनले सभामुखसँग आग्रह पनि गरे ।

‘राजनीतिक प्रतिशोधका आधारमा लगाइएको मुद्दालाई लिएर प्रतिनिधि सभा नियमावलीको व्यवस्थाभन्दा बाहिर गएर अन्य कानुनको प्रयोग गरी निलम्बन गरिनु नै ममाथिको अन्याय हो,’ निवेदन पढेर सुनाउँदै उनले भने, ‘सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम मलाई गरिएको निवेदन कानुनसम्मत छैन। आजकै बैठकबाट निलम्बन फुकुवा गरिदिनुहोस्।’

सभामुखले भने उनको स्वास्थ्यमा विशेष चासो राखेका थिए। रवि प्रवेश गर्ने बित्तिकै सभामुखले सोधेका थिए, ‘तपाईँको स्वास्थ्य अवस्था के छ ?’ रविले निलम्बन फुकुवाको माग गर्दै आफ्ना कुरा राखेपछि सभामुखले प्रतिप्रश्न गरे, ‘तपाईंविरुद्ध मुद्दा चलेको होइन र ?’

त्यसो भनेपछि रविले कानुन व्यवसायीलाई स्पष्ट पार्न भनेका थिए। रविसँगै रास्वपा १५ जना सांसद गएका थिए।

रविका कुरा सुनेर पत्र बुझेपछि सभामुख घिमिरेले कानुन र नीतिगत कुराहरू अध्ययन गरेर जवाफ दिने बताएका छन् । उनले आजको आजै सांसद पद खुलाउन नसक्ने पनि जवाफ दिएका छन् ।

२०८० वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा दोस्रो पटक प्रतिनिधिसभामा निर्वाचित लामिछाने गत पुस ८ गतेदेखि सांसदबाट निलम्बित अवस्थामा छन् ।

पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत अपचलन तथा सम्पत्ति शुद्धीकरणको कसुरमा पनि मुद्दा चलेसँगै सांसदबाट निलम्बित भएका थिए ।

सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरण मुद्दा लागेका रविलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईले गत पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका थिए ।

उक्त मुद्दाको अन्तिम निरूपण नभइसकेकाले रवि सांसद पदमा फर्किने सम्भावना छैन । मुद्दाको अन्तिम किनारा नलागे पनि रास्वपा सांसदहरू रविको निलम्बन फुकुवा मागसहित सभामुखकहाँ पुगेका हुन् ।