images

आर्मीलाई अराउँदै केपी ओली कपको उपाधिमा मछिन्द्रको ह्याट्रिक

काठमाडौं । तेस्रो संस्करणको केपी ओली कप च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधिमा मछिन्द्र फुटबल क्लबले ह्याट्रिक गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० ले पराजित गर्दै लगातार तेस्रो पटक उपाधि जितेको हो।

आर्मीविरुद्ध मछिन्द्रले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो। दशरथ रंगशालामा खेलको २९औँ मिनेटमा आर्मीका विमल पाण्डेले आत्मघाती गोल गरेपछि मछिन्द्रले १–० को अग्रता कायम गरेको थियो।

त्यसपछि दोस्रो हाफमा आफ्नो दबदबा कायम राखेको मछिन्द्रले थप एक गोल गर्न सफल भयो। दोस्रो गोल मछिन्द्रका विदेशी खेलाडी स्टिफन जमाह जालीले खेलको ७३औँ मिनेटमा गरेका हुन्।

साँझ ६ बजे हुने फाइनल खेल हेर्नका लागि समर्थकहरु दिउँसो १ बजे नै मैदानमा पुगेका थिए। खेल सुरू हुनुअघि नै दशरथ रंगशालामा सिट भरिँदा पास र टिकट भएका कतिपय दर्शक रंगशालाबाहिरै अलपत्र परेपछि केही समय तनाव सिर्जना भएको थियो।

फाइनल खेलमा फिफा विश्वकप विजेता इटलीका गोलकिपर जियानलुइजी बुफोन प्रमुख अतिथिको रूपमा मैदानमा पुगेका थिए। उनले रंगशालाको ट्र्याक परिक्रमा गर्दा दर्शकले हुटिङसहित स्वागत गरेका थिए।

हिजोमात्र नेपाल आइपुगेका बुफोनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारी निवास बालुवाटरमा भेट गरेका थिए। त्यसपछि प्रधानमन्त्री ओली पनि खेल हेर्न र खेलाडीको हौसला बढाउन दशरथ रंगशाला पुगेका थिए।